निरुता उत्तम र दीलिपको सहकार्यमा ‘दर्पण छायाँ’ को सिक्वेल बन्दै
काठमाडौं । तीन स्टार्स–निरुता, उत्तम र दीलिपको करिअरमा कोशेढुंगा साबित भएको फिल्म 'दर्पण छायाँ’ २००१ मा सुपरडुपर हिट भएको हो । फिल्मका हरेक दृश्यले दुई दशकपछि पनि दर्शकको दिमागमा उस्तै राज गरिरहेको छ । अहिले पनि यो फिल्म हेरिरहँदा नहाँस्ने र नरुने कमै होलान् । निरुता सिंह, उत्तम प्रधान र दीलिप रायमाझीको जोडी विर्सन त झन् कसले पो सक्छ होला र ?
निर्देशक तुलसी घिमिरेले दुई दशकपछि ‘दर्पण छायाँ’ को लोकप्रियता ‘क्यास’ गर्न नयाँ कथामा नयाँ कलाकारलाई प्रस्तुत गरेर यसको दोस्रो पार्ट बनाए । तर, फिल्मलाई रुचाइएन । फिल्ममा पुष्पल खड्का, साहारा कार्की प्रमुख भूमिकामा थिए । उत्तम प्रधानको केमियो थियो ।
अब भने यो फिल्मको सिक्वेल निर्माण हुने भएको छ । अर्थात्, ‘दर्पण छायाँ’ जहाँ अन्त्य भएको थियो त्यहीबाट ‘दर्पण छायाँ’ को दोस्रो पार्ट सुरु हुनेछ । अहिले फिल्मको कथा अभिनेता उत्तम प्रधानले लेखिरहेका छन् । फिल्मलाई ‘दर्पण छायाँ’ जोडी उत्तम, निरुता र दीलिपले निर्माण गर्नेछन् भने अभिनय पनि उनीहरुको नै रहनेछ । निर्देशन तुलसी घिमिरे गर्ने सम्भावना भने कम देखिन्छ ।
एक साप्ताहिकसँगको कुराकानीमा निरुता स्वयम्ले ‘दर्पण छायाँ’ को सिक्वेल बनाउन लागेको खुलासा गरेकी हुन् । उनले उत्तमको कन्सेप्टबाट आफू प्रभावित भएको र हाल कथामा काम भइरहेको उनले बताएकी छिन् । उनले भनेकी छन्, ‘उत्तम जीले सुनाउनु भएको एउटा कन्सेप्ट मलाई पनि राम्रो लाग्यो । अहिले कथामा काम भइरहेको छ ।’
हालै अभिनेता दीलिपले आफूलाई ‘दर्पण छायाँ’ जस्तै सुपरहिट फिल्म गर्ने मन भएको बताएका थिए । निरुता भने सधैं उत्तम र दीलिपलाई ‘मिस’ गरिरहने बताइरहेकी हुन्छिन् । अब दुई दशकपछि सर्वाधिक रुचाइएको ‘दर्पण छायाँ’ जोडीलाई पुनः पर्दामा हेर्न पाउनु दर्शकका लागि भने ठूलै सरप्राइज हुनेछ । उक्त फिल्मको अर्को वर्षको सुरुवातबाट छायांकन सुरु हुने स्रोत बताउँछ ।
प्रतिक्रिया