कमिसनको कुरा नमिल्दा सचिव जगेडामा

bina and gajendra

 काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले आफैले रुचाएका सचिवलाई हटाएर अर्को ‘काण्ड’ मच्चाएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयका सचिवहरूको सरुवा रोकेका बेला ससुरा पुष्पकमल दाहालको पावर लगाएर मन्त्री मगरले गजेन्द्र ठाकुरलाई सचिव बनाएकी थिइन्

 । कुरा मिल्दासम्म मन्त्री मगरले सचिव ठाकुरलाई प्रयोग गरिन् । कुरा मिल्न छाडेपछि मगरले ठाकुरलाई जगेडामा लगेर थन्काएकी छन् । त्यसो त ठाकुर आफैमा बद्नाम र भ्रष्ट सचिव हुन् । उनले विनालाई मन्त्रालयका कुरा केही नजानेको भन्दै आफै मन्त्री भएँझैं सिएमसीसँग डिल गर्दै आएका थिए ।

 मन्त्री मगर र सचिव ठाकुरबीच मेलम्ची खानेपानी आयोजनालाई लिएर विवाद थियो । इटालियन ठेकेदार कम्पनी सिएमसीसँग मन्त्री मगरले ठूलो रकम माग गरेपछि कुरा विग्रिएको आरोप लाग्दै आएको छ । अहिले फेरि मन्त्री मगरले आफैले हटाएको इटालियन ठेकेदारलाई भित्र्याउन खोज्दै छिन् ।

 मगरले सात इटालियन ठेकेदारलाई धरौटीको रकमका साथै अरु तीन अर्ब रकम थपेर काममा लगाउन खोजेपछि कमिशनको विषयमा सचिवसँग कुरा नमिल्दा ठाकुरलाई जगेडामा लगेको स्रोतले जनाएको छ । मन्त्री मगरका कारण मेलम्चीमा नेपाल सरकारलाई थप पाँच अर्ब नोक्सानी हुने ठाकुरको भनाइ छ ।

 यही विषयमा मन्त्री मगर र सचिव ठाकुरबीच सार्वजनिक रुपमै भनाभन भएको थियो । कानूनभन्दा बाहिर गएर काम गर्न नमानेको आरोपमा मन्त्री मगरले अर्का सहसचिवलाई पनि थन्काएर राखेकी छिन् । उनले मन्त्रालयमा कार्यसम्पादन गर्न सकेकी छैनन् ।

 प्रधानमन्त्री कार्यालयले तयार पारेको एप्समा पनि खानेपानी मन्त्री मगरको सबैभन्दा कमजोर कार्यक्षमता देखिएको छ । ओलीले नेकपाका दोस्रो तहका अध्यक्ष दाहालकी बुहारी भएकै कारण केही गर्न सकेका छैनन् । अरु मन्त्रीले सचिव फेर्न खोज्दा ओलीले मान्दैनन् । तर, मन्त्री मगरले भन्नेवित्तिकै दुई वटा सचिव परिवर्तन गरिदिएका छन् ।

 मन्त्री मगरकै च्वाइसमा ठाकुर खानेपानी मन्त्रालयको सचिव बनेका थिए । खानेपानी मन्त्री मगरले अरु आयोजनाहरूसँग पनि कमिशन माग्ने गरेको मन्त्रालयभित्रै चर्चा हुने गरेको छ । ससुराको पावर लगाएर मन्त्री बनेकी मगरले मन्त्रालयमा काम गर्नेभन्दा पनि कता कताबाट कमिशन आउँछ भनेर आफ्ना सहयोगीहरूलाई खटाउने गरेको आरोप छ ।

 केही समय अगाडि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सचिव प्रेमकुमार राईलाई हटाउन खोजेका थिए । तर, ओलीले मानेनन् । गृहसचिव राई ओलीका अत्यन्तै विश्वासपात्र मानिन्छन् । गृहमन्त्रालयमा हुने सबै गोप्य कुराहरू मन्त्री थापालाई बिफ्रिङ गर्नु अगाडि नै राईले प्रधानमन्त्री ओली समक्ष पु-याउने गरेको मन्त्रीले नै आरोप लगाउँदै आएका छन् । (यूनाइटेड पोस्ट साप्ताहिक )

प्रतिक्रिया

सम्बन्धित