मल्टिप्लेक्समा ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’, कसले मार्छ बाजी ?

download

  काठमाडौं । बजारमा जे जस्ता हल्ला र बहस चलेता पनि शुक्रवारबाट दुई फिल्म बक्सअफिसमा आमने–सामने भएका छन् । दुबै फिल्म एकअर्काका लागि कडा प्रतिस्पर्धी मानिएका छन् । न 'द ब्रेकअप' लाई हराउन क्याप्टेनलाई सजिलो छ न 'क्याप्टेन' लाई पराजित गर्न 'द ब्रेकअप' लाई सजिलो छ । यो खेलमा कसले बाजी मार्छ ? त्यो भने सबैका लागि चासोको विषय बनेको छ । यद्यपि, अनमोलको स्टारडमका कारण 'क्याप्टेन' बक्सअफिसमा आक्रामक हुनेमा भने शंका छैन । 


दीवाकर भट्टराई निर्देशित फिल्म ‘क्याप्टेन’ मा अनमोल नेपाली फुटबल टिमका कप्तान ईशान खड्काको भूमिकामा रहेका छन् । बाबुको सपना साकार पार्न हिँडेको मध्यम वर्गीय परिवारको ईशानले देशका लागि स्वर्ण पदक जित्ने यात्रामा के–कस्ता चुनौती सामना गर्नुपर्छ भन्ने फिल्मको मूल कथा हो । यसमा अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् ।

धमाकेदार ट्रेलर र दुई गीत (रहर छ सँगै र कर्ली कर्ली कपाल) ले लोभलाग्दो हाइप निर्माण गरेको यस फिल्मलाई चर्चित अभिनेता भुवन केसीले निर्माण गरेका छन् । फिल्मको पटकथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन् । फिल्ममा सुदिप बरालको छायांकन छ । सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतको पनि यसमा अभिनय छ ।

यो फिल्मले मल्टिप्लेक्सहरुमा राम्रो सोज हात पारेको छ । सिंगल स्कृन पनि पर्याप्य मिलेको छ । नेपालकै ठूलो र स्तरीय मल्टिप्लेक्स च्यानल क्यूएफएक्सले राजधानीका ५ स्टेशनमा फिल्मलाई १६ सोज दिएको छ । प्रदर्शनरत दुई हिन्दी फिल्म 'टोटल धमाल' र 'गल्ली ब्वाई' का कारण फिल्मले अपेक्षाकृत सोज पाउन भने चुकेको छ ।

यस्तै, हेमराजको 'द ब्रेकअप' मा चकलेटी ब्वाई आशिरमान देशराज जोशी र नव–अभिनेत्री शिल्पा मास्के लिड रोलमा छन् । फिल्म यी दुईको प्रेम र विछोडको वरिपरि मडारिएको छ । यसलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।

फिल्ममा आशिर र शिल्पाका अलावा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्मले 'क्याप्टेन' भन्दा कम 'सिंगल स्कृन' पाए पनि पट्यारलाग्दो भने छैन । निर्माण टिम माउथ पब्लिसिटीले हल संख्या वृद्धि हुनेमा विश्वस्त छ । मल्टिप्लेक्सहरुमा भने औसत सोज पाएको छ । पहिलो दिन क्यूएफएक्सले राजधानीका ५ स्टेशनमा फिल्मलाई १० सोजमा उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित