तनहुँ हाइड्रोले पनि तोड्यो सीएमसीसँगको सम्झौता
काठमाडौं । राजधानीबासीलाई पानीको हाहाकारबाट बचाउने उद्देश्यका साथ शुरु गरिएको मेलम्ची खानेपानी आयोजनाको ठेक्का अन्तिम समयमा तोडेको इटालीको कम्पनी सीएमसीलाई अर्को धक्का लागेको छ । मेलम्ची छाडेर हिंडेको सिएमसीसँग तनहुँ हाइड्रोपावर लिमिटेडले पनि ठेक्का सम्झौता रद्द गरेसँगै सिएमसीलाई अर्को धक्का लागेको हो । १ सय ४० मेगावाटको आयोजनाको हेडवर्क्सको काम सीएमसीले पाएको थियो । हेडवर्क्सअन्तर्गत नदी फर्काउने र बाँधसहितको संरचना निर्माणको काम पर्छन् ।
आयोजना र सीएमसीबीच भएको सम्झौतामा २८ दिनभित्र आयोजनास्थलमा काम सुरु गर्ने प्रावधान छ । कम्पनी सम्झौताअनुसार आयोजनास्थल नपुगेपछि आयोजना कार्यालयले फागुन ७ गते ठेक्का तोड्नका लागि सूचना जारी गरेको थियो । दुई साताको म्याद दिएर सूचना दिइए पनि सीएमसीको आधिकारिक जवाफ नआएको भन्दै आयोजनाले ठेक्का तोडेको हो ।
तनहुँ हाइड्रोपावर लिमिटेड र सीएमसीबीच १५ असोजमा २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा खरिद सम्झौता भएको थियो । तनहुँ हाइड्रोपावर लिमिटेडले माघ ४ गते ठेक्का कार्यान्वयनको सूचना सीएमसीलाई दिएको थियो । सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरी हाल नयाँ ठेक्का प्रक्रियाका लागि तयारी सुरु गरिएको तनहुँ हाइड्रोपावरले जनाएको छ । नयाँ टेन्डर आह्वान गर्न बोलपत्र कागजात तयारीको काम अन्तिम चरणमा पुगेको र चैतको दोस्रो हप्ताभित्र नयाँ बोलपत्र आह्वान गर्ने कम्पनीले जनाएको छ ।
यता, मेलम्चीको हेडवर्क्स संरचना निर्माणका लागि सीएससीले २०७० असार ३१ गते ७ अर्ब ७२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सीएएमसीले काम छाडेपछि निर्माणको अन्तिम अवस्थामा रहेको मेलम्ची आयोजना अहिले अलपत्र छ ।
सरकारले बाँकी काम गर्न पुनः सीएमसीलाई बोलाउने प्रयास गरे पनि सफल भएको छैन । सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची नदीको हेडवर्क्सदेखि काठमाडौंको सुन्दरीजलसम्मकरिब २६ किलोमिटर लामो सुरुङ निर्माण गरी दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याउने योजनासहित आयोजनाको काम २०५६ मा सुरु गरिएको हो । आयोजनाअन्तर्गत सुन्दरीजलमा दैनिक १७ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण हुने क्रम जारी छ ।
सीएमसीले ७ अर्ब ७२ करोडमा ठेक्का पाएको थियो । कम्पनीसँग आयोजनाले २०७० असार ३१ गते सम्झौता गरेको हो । उक्त सम्झौताअनुसार निर्माण सुरु गरेको तीन वर्षमा हेडवर्क्स र सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने भए पनि विभिन्न अवरोधका कारण आयोजनाको काम अहिलेसम्म सकिएको छैन ।
प्रतिक्रिया