'यात्रा'को गीतलाई गालीको वर्षात, मेलिनाले गरिन् ‘यात्रा’ टिमको निन्दा
काठमाडाैं । चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यात्रा’ मा दशक अगाडिको सुपरहिट गीत ‘चट्ट रुमाल क्या मालुम’ लाई रिमेक गरेर समावेश गरिएको छ । गएको मंगलवार यो गीतको रिमेक भर्सन निर्माण टिमले राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गर्यो । गीत रिलिज अगाडिसम्म दंग देखिएको निर्माण टिम अहिले भने निकै तनावमा छ । किनकि, गीतलाई गालीको वर्षात आएको छ ।
चलचित्र ‘यात्रा’मा समावेश ‘चट्ट रुमाल’ बोलको गीतले युटुबमा राम्रो भ्यूज पाइरहेको छ । तर, यो गीतलाई दर्शकले तारिफ भन्दा बढी गाली गरेका छन् । दर्शकले पुरानो चलचित्र ‘आफ्नो मान्छे’मा समावेश यो गीतलाई बिगारेर सार्वजनिक गरिएको भन्दै आलोचना गरेका छन् । गीत हेरेपछि यो चलचित्रका गायक–गायिकामाथि पनि प्रश्न उठाइएको छ ।
सम्भवतः पहिलो पटक कुनै पुरानो गीतको रिमेक भर्सनप्रति दर्शकहरुको यस प्रकारको असन्तुष्टि सुनिएको हो । युट्युबमा दर्शकले गीतलाई अत्याधिक गाली गरेपछि ‘चट्ट रुमाल’ को रिमेक भर्सनमा आवाज भरेकी सुन्दरी गायिका मेलिना राईले मुख खोलेकी छन् । नारी दिवसको शुभकामना दिँदै उनले शुक्रवार बिहान आफ्नो आधिकारिक फेसबुकमा लामो स्टाटस कोर्दै निर्माण टिमप्रति घोर निन्दा गरेकी छन् ।
कुनै लेजेन्ड्सले गाइसकेको र उही बेला चर्चित भइसकेको गीतलाई रिमेक गरेर बजारमा ल्याउनु आफैंमा ठूलो चुनौती रहेको बताउँदै मेलिनाले लेखेकी छन्, 'त्यो चुनौतीलाई ध्यानमा राखेर हामीले पूरा मेहनत गर्न पछि परेका थिएनौं । मैले तीनपटक भोकल गरेको थिएँ । सुमन सिंहले तीनपटक भोक गर्नुभएको थियो तर उहाँको राखिएन । श्याम स्वयत दाईले तीनपटक मिक्सिङ गर्नुभएको थियो र बाजाहरु थपियो । त्यति गरेर तयार गरिएको त्यो गीत नराखेर उही थोत्रे पुरानो गीत राखियो ।'
धेरै पटक आफूले फाइनल गीत रिप्लेस गरियोस् भनेर अनुरोध गरेता पनि टिमले नसुनेको उनले गुनासो पोखेकी छन् । टेन्डिङ र भ्यूजको अस्वस्थ प्रतिस्पर्धाको चेपुवामा आफू परेको मेलिनाको दुखेसो छ । 'राम्रो कुराले टेन्डिङमा परेको पो राम्रो त हैन र ? यो विषयले संगीत क्षेत्रका हामी नयाँ पुस्ता र व्यक्तिगत मलाई पनि असर पुगेको हुँदा एक आर्टिस्ट भएको नाताले मलाई यस विषयमा बोल्न अधिकार छ, उनले लेखेकी छन् ।
तर, मेलिनाको स्टाटसमा न ‘यात्रा’ टिम भनेर उल्लेख गरिएको छ न त ‘चट्ट रुमाल’ को रिमेक भर्सन भनेर नै उच्चारण गरिएको छ । उनले आफू जोगिएर स्टाटस लेखेकी छन् । तर, उनको असन्तुष्टि ‘यात्रा’ टिमप्रति हो भन्ने अनुमान लगाउन गाह्रो छैन । किनकि, उनले स्वर भरेका कुनै पनि गीतले आजसम्म सुन्नै नसक्ने गरि गाली खाएका छैनन् । हरेक गीतमा उनको स्वरलाई दर्शकहरुले अत्याधिक रुचाउने गरेका छन् । ‘चट्ट रुमाल’ को रिमेक भर्सनमा पनि उनको स्वरलाई भने खासै गाली छैन ।
मेलिनाले स्टाटस लेखेर आपत्ती जनाइरहँदा यो गीत रिएरेन्ज गरेका राजन इशानले भने पुरानो गीतलाई रिएरेन्ज गरेर नयाँ बनाउँदा गाली आउनु स्वभाविक भएको बताएका छन् । उनले भने–‘उहाँलाई अटो ट्यूनिङ चलोस् भन्ने लागेको थियो होला । तर, यो गीतमा अटो ट्यूनिङ चलेको छैन । अटो ट्यून निकालिदिने हो भने त अहिले नेपालमा गायक–गायिका नै भेट्न मुश्किल पर्छ । मलाई गीत ठिक लागेर नै फाइनल गरेको हुँ ।’
‘चट्ट रुमाल’ लाई रि-एरेञ्ज राजन इशानले गरेका हुन् भने स्वर मेलिना र धर्मेन्द्र सेवानले भरेका छन् । पुरानो गीतमा शम्भुजित बाँस्कोटा र साधना सरगरको स्वर थियो । भने, शम्भुजित स्वयंले संगीत भरेका थिए । गीतका वास्तविक सर्जक बाबुराम दाहाल हुन् । स्वर्गीय शिव रेग्मी निर्देशित फिल्म 'आफ्नो मान्छे' मा समावेश यो गीतको भिडियोमा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहले नृत्य गरेका थिए ।
प्रतिक्रिया