सरकारले विखण्डनलाई मान्यता दिएको सांसद यादवको आरोप
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य एवं सांसद महेन्द्रराय यादवले स्वतन्त्र मधेस गठबन्धनसँगको सम्झौता सकारात्मक भएपछि त्यसभित्र उल्लेखित कुरा आपत्तिजनक रहेको भन्दै आक्रोश पोखेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले भने–‘के यो सरकारले विखण्डनलाई मान्यता दिएको हो ? यो देशमा विखण्डनको कुनै एजेण्डा बन्नु हुँदैन। कुनै पनि पार्टीलाई मान्यता दिनुहुँदैन। तर सरकारले त्यसलाई कसरी मान्यता दियो, यसमा हामी सरकारको जवाफ चाहन्छौं।’
उनले सीके राउतसँग भएको जनमतसंग्रहको विषयमा पनि सरकारले स्पष्ट पार्नुपर्ने माग गरे। ‘जनमत संग्रहको कुरा के हो ? सरकारको आन्तरिक सम्झौता के भएको छ ? त्यो कुरा सरकारले संसदलाई जानकारी गराउनुपर्दछ ।’
पृथकतावादी आन्दोलनलाई राजपाले समर्थन नगर्ने र देशको एकता, सार्वभौमता र अखण्डतालाई बचाईराख्न आफूहरु कटिबद्ध रहेको उनको भनाई थियो। ‘हाम्रो एजेण्डा राष्ट्रियता हो। त्यसकारण जनमतसंग्रहको बारेमा जुन प्रकारको अभिव्यक्ति सुनिएको छ, चिन्ताको विषय छ, यसमा जवाफ दिनुपर्छ’, उनले भने।
प्रतिक्रिया