सिकेसँग सरकार झुकेको थापाको आरोप

kamal thapa

   बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सिके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता विरोधाभासपूर्ण, अमूर्त र रहस्यमय रहेको बताएका छन् ।
मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बुटवल आइपुगेका थापाले पत्रकार भेटघाटमा भने–‘विखण्डनकारी गतिविधिलाई राउतले यथावत राखेकाले तत्काल कारबाही गर्न सरकार समक्ष आग्रह गर्न चाहन्छु ।’

कार्यक्रममा अध्यक्ष थापाले भने–‘सहमतिपछि पटकपटक दोहोर्‍याएर पढ्यौं, तर त्यहाँ विखण्डनको एजेण्डा छोडेको कतै देखिन्न । स्वतन्त्र मधेश गठवन्धन विघटन गरेको पनि देखिन्न । राउतको फेसबुक स्ट्याटस् र जनकपुरको प्रदर्शनले पनि सहमति रहस्मय रहेको पुष्टि गरेको छ ।’

जनकपूरमा सिके राउत समर्थकले गरेको प्रदर्शन आपत्तिजनक भएको बताउँदै उनले विखण्डनकारी नारा लगाउँदा समेत सरकार मुकदर्शन बनेको भन्दै सरकार सिकेसँग झुकेको आरोप लगाए ।
‘सीके राउतले विखण्डनकारी माग यथावत् राखिरहँदा पनि सरकार मुकदर्शक देखिएको छ । राउतलाई समातेर सरकारले तत्काल कारबाही गरोस् ।’

प्रतिक्रिया

सम्बन्धित