न्याम्सको उपकुलपतिमा डा.साह नियुक्त, बालुवाटारमा प्रधानमन्त्रीले गराए सपथ

nyams

 काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा प्रा.डा देवनारायण साह नियुक्त भएका छन् ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं न्याम्सका सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीका साहलाई हिजो नियुक्त गरेका हुन् । यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले न्याम्सका अन्य पदाधिकारीको पनि हिजो नियुक्ति गरेका छन् ।

जसअनुसार पर्साका प्रा डा सुबोधकुमार अधिकारी शिक्षाध्यक्ष, पाँचथरकी प्रा प्रमिला देवान रजिस्ट्रार, सुनसरीका प्रा डा पियुस दाहाल डिन र सप्तरीका डा.केदारप्रसाद सेन्चुरी वीर अस्पतालको निर्देशकमा नियुक्त भएका छन् ।

उनीहरु सबैको पदावधि चार वर्षको हुनेछ । प्रधानमन्त्री ओलीको उपस्थितिमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले उपकुलपति साहलगायत सबैलाई हिजो बालुवाटारमा पद तथा गोपनियताको सपथ गराएका थिए  ।

शपथपछि प्रधानमन्त्री ओलीले भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन् । ‘५०० रोपनी क्षेत्रफलमा भक्तपुरमा सुविधा सम्पन्न अस्पताल बनाउने कार्य तत्काल थालनी गर्नुहोस्, त्यो काम तपाईंहरुकै कार्यकालमा सम्पन्न हुनुपर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको वीर अस्पताललाई सिटी अस्पतालको रुपमा सञ्चालन गर्नुपर्दछ ।’

वरिष्ठ चिकित्सकले अस्पतालमा बिरामीको उपचार नगर्ने गलत संस्कार बसेकोले त्यसलाई तोड्न समेत निर्देशन दिदै प्रधानमन्त्री ओलीले भने, ‘सिनियर भएपछि काम गर्न नपर्ने गलत संस्कारको विकास भएको देखिन्छ । सिनियरको अनुभवले बिरामीको उपचार गर्दा त्यसबाट बिरामीले पाउने लाभ अधिक हुन्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित