‘छक्का पञ्जा २’ पुनः हलमा लाग्ने
काठमाडौं । निराशजनक बन्दै गएको नेपाली चलचित्रको बजारमा सातामा दुई भन्दा बढी चलचित्र रिलिज हुन्छन्, तर रिलिज भएका चलचित्रको दर्शक शुन्य जस्तै देखिएको छ । यो वर्षको सुरुवातदेखि मुस्किलले आधा दर्जन चलचित्रको लगानी बचेको छ ।
निर्माण घोषणामा नै बैशाख १३ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘दाल भात तरकारी’ एक साता पछाडि सर्यो । आन्तरिक कारण देखाउदै चलचित्रले एक साता रिलिज मिति सारे पनि यसको मुख्यकारण भनेको उक्त मितिमा रिलिज हुन लागेको हलिउडको बीग प्रोजेक्ट ‘एभेन्जर’ हो ।
‘दाल भात तरकारी’ एक साता पछाडि सरेपछि उक्त मितिमा २०७४ सालको दशैंमा रिलिज भएको सुपरहिट फिल्म ‘छक्का पञ्जा २’ पुनः हलमा लाग्ने भएको छ । दर्शकहरुको चाहना बमोजिम फिल्म रि–रिलिज गर्न लागिएको अभिनेता तथा निर्माता दीपकराज गिरीले बताएका छन् । अर्को वर्षको दोस्रो साता अर्थात् बैशाख १३ गतेबाट फिल्म देशभर पुनः एकपटक प्रदर्शनमा आउने तय भएको छ । यो मितिमा कुनै फिल्म प्रदर्शनमा छैनन् ।
हलमा रिलिज भएको डेढ वर्ष वितिसके पनि यो फिल्म अझै युट्युबमा रिलिज भएको छैन । यो फिल्म युट्युबमा पर्खेर बस्ने दर्शक धेरै छन् । तर, निर्माण टिमले तत्काल युट्युबमा रिलिज गर्नेभन्दा पुनः हलमा फिल्म प्रदर्शन गर्ने निर्णय लिएको छ । बैशाख १३ मा कुनै नेपाली फिल्म नभएका कारण ‘छक्का पञ्जा २’ ले पुनः एकपटक सिंगल थिएटरमा दर्शक तान्न सक्ने फिल्म पण्डितहरुको आँकलन छ ।
यसअघि यो फिल्मलाई यही चैत अन्तिममा पुनः प्रदर्शन गर्ने तयारी थियो । तर, हरेक साता एकभन्दा बढी फिल्म प्रदर्शनमा आउन तमतयार रहेका कारण यो फिल्मले पुनः प्रदर्शनका लागि उपयूक्त मिति पाउन सकेको थिएन । अन्ततः बैशाख १३ बाट हलिउड फिल्मका कारण ‘दाल भात तरकारी’ ले हात झिकेपछि ‘छक्का पञ्जा २’ लाई लोट्री लागेको छ । नतिजा भने कस्तो आउनेछ ? हेर्न बाँकी नै छ ।
प्रतिक्रिया