काठमाडौंमा पनि बर्डफ्लु, २८ हजार कुखुरा नष्ट
काठमाडौं । काठमाडौंको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा पालिएका कुखुरामा बर्डफ्लुको संक्रमण भएको पुष्टि भएको छ ।तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भेटिएको हो ।
बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा. जयप्रकाश राय यादवले जानकारी दिए । उनका अनुसार, गत वर्ष पनि यहाँ हाँसमा बर्डफ्लुको संक्रमण देखिएको थियो । पुनः कुखुरामा संक्रमण देखिएको कारण अहिलेसम्मको अध्ययनबाट पत्ता लगाउन नसकेको उनले बताए ।
बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको छ ।
अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ ।प्रमुख यादवका अनुसार चार किल्लाभित्रका पंक्षी नष्ट गरी खाडलमा पुरिएकोे छ ।
यसअघि हेटौंडा ७ नागस्वतिमा वर्डफ्लु देखिएपछि सो क्षेत्रमा आइतबार बिहानसम्म १३ हजार बढि कुखुरा नष्ट गरिएको छ । शनिबार बिहानदेखि कुखुरा नष्ट गर्ने अभियान थालिएको थियो । बर्डफ्लुको पुष्टि भएसँगै हेटौँडामा कुखुरा नष्ट गर्ने क्रमलाई तिब्रता दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार भेटनरी अस्पताल हेटौँडा, कुखुरा ब्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय सहित स्थानीय कुखुरा ब्यवसायीहरुको सहभागितामा दिनभर र रातभरी पनि कुखुरा मारिएको हो । कुखुरा नष्ट गर्ने क्रमले आइतबार दिनभर पनि निरन्तरता पाएको थियो ।
प्रतिक्रिया