१७ दिनपछि अपहरणमुक्त, कटुवा पेस्तोलसहित दुई अपहरणकारी पक्राउ

hatkadi

   काठमाडौं । प्रहरीले १७ दिनपछि अपहरणमा परेका एक व्यक्तिलाई अपहरणमुक्त गराएको छ । भारतीय प्रहरीको सहयोगमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बाट अपहरणमा परेका सुरेश साहलाई नेपाल प्रहरीले अपहरणमुक्त गराएको हो ।

गत फागुन १९ गते अपहरणमा परेका गौशाला नगरपालिका–८ का २९ वर्षीय साहलाई महोत्तरी प्रहरीले भारत बिहारको बेतियास्थित (एसटीएफ) प्रहरीको सहयोगमा बिहीबार अपहरणमुक्त गराएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

फागुन २२ गते साहकी आमा देवसुनर देवीले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आफ्नो छोरा सुरेश अपहरणमा परेको निवेदन दिएपछि सोही दिनदेखि महोत्तरी प्रहरीले प्रहरी निरीक्षक दीपक चोरबारको कमाण्डमा खोजतलास गरेको थियो ।

सुरेश अपहरणमा परेपछि उनका भिनाजु अमरनाथ महतोलाई भारतीय नम्बरको मोबाइलबाट भारतको बेतिया नजिकै रहेको बगहा र बाल्मिकी नगरको मैन्मा जङ्गल क्षेत्रबाट फिरौती रकम लिएर आउन फोन आउन थालेपछि महोत्तरी प्रहरीले परिवारजनको जानकारीमा भारतीय प्रहरीको सहयोगमा मोबाइललाई पछ्याउँदै जाँदा उनलाई भारतको बेतिया नजिकै रहेको बगहा र बाल्मिकी नगरको मैन्मा जङ्गल क्षेत्रबाट बन्धक बनाइराखेको अवस्थामा फेला पारेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार फिरौती रकम ल्याउन भन्ने बारा जिल्लाको कलैया नगरपालिका–१२ रामपुर बस्ने ५२ वर्षीय मुन्ना भन्ने सुरज चौधरी र काशी साहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने ५.५६ एमएमको गोली चार थान समेत बरामद गरेको छ ।

अपहरणमा संलग्न दुवैलाई भारतीय प्रहरीले पक्राउ गरी भारतमै आवश्यक कारवाही अगाडि बढाएको छ भने अपहरणमुक्त भएका साहलाई बिहीबार नै उनका आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित