विप्लव माओवादीका भेरी–कर्णाली इञ्चार्ज शाही पनि पक्राउ

dhanaraj sahi

   काठमाडौं । प्रहरीले प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीका बुद्धिजीवी परिषद भेरी–कर्णाली इञ्चार्ज धनराज शाही कालिकोटबाट पक्राउ परेका छन् ।

प्रहरीको गस्ती टोलीलाई आक्रमण गर्ने, विभिन्न ठाउँमा बम बिस्फोट गराउने योजना बनाइरहेको भन्ने सूचनाका आधारमा गरिएको सर्च अप्रेसनमा शाही पक्राउ परेको कालिकोट प्रहरी प्रमुख विनोद शर्माले बताएका छन् । प्रहरीका अनुसार शाही कालिकोट जुबिया–८ लिबुवाका उनलाई मोल्पा राताडाबाडबाट सोमबार पक्राउ परेका हुन् ।

शाही कालिकोटमा विप्लव माओवादीले गठन गरेको जनसरकार प्रमुख पनि हुन्। शाहीबाट प्रहरीले बम बिस्फोटमा प्रयोग हुने जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइत १ थान, बारुद एक किलो, डेडकर्ड तीन मिटरसहित बरामद गरेको छ । उनलाई बम बिस्फोट, राज्यविरुद्धको अपराध तथा संगठित अपराध ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ।

शाही भेरी–कर्णालीका १० जिल्लामा संगठन विस्तार गर्ने, बम बिस्फोट गराउने, चन्दा–आतंक मच्चाउन सक्रिय थिए। गत भदौ १० गते विप्लव माओवादीको बन्दका क्रममा उनले दैलेख र कालिकोटको सिमानामा बम बिस्फोट गराई आतंक मच्चाएका थिए। त्यही दिन जिल्ला नापी र मालपोत कार्यालय कालिकोट छेउमा बम बिस्फोट गराइएको थियो। सो घटना शाहीको निर्देशनमा भएको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

त्यस्तै, प्रहरीले जिल्ला मजदुर संगठन कालिकोट इञ्चार्ज भरत शाहीलाई पनि पक्राउ गरेको छ। प्रहरीले कारबाही तीव्र पारेपछि जिल्ला सैन्य सह–इञ्चार्ज रमेश चँदारा सुनारले आत्मसमर्पण गरेका छन्। ‘उनले प्रहरीमा नेपालको संविधान मान्छु भनी आत्मसमर्पण गरेको कालीकोट प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले बिप्लव समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’ लाई पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार श्रेष्ठ आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ परेका थिए । द्वन्द्वकालीन समयमा श्रेष्ठ तत्कालीन माओवादीका ब्यूरो सदस्य थिए।

सरकारले प्रतिबन्ध लगाएसँगै चन्द समूहका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ। केही दिन अघी काभ्रेबाट मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जना पक्राउ परेका थिए  ।

प्रतिक्रिया

सम्बन्धित