विप्लबको बन्दले प्रभावित होला त लगानी सम्मेलन ?

lagani

 काठमाडौं । केही दिन पछि हुन लागेको अन्तराष्ट्रिय लगानी सम्मेलनमा सरकारले काठमाडौं उपत्यकामा सुरक्षा सर्तकता बढाएको दाबी गरिरहेका बेला प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले चैत १६ गते शनिबार नेपाल बन्दको घोषणा गरेको छ । सरकारले प्रतिबन्ध लगाएपछि विप्लव नेकपाका नेता कार्यकर्ता देशभरबाट पक्राउ पर्ने क्रम बढेको छ । 

 पार्टी स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित देशभरिबाट आफ्ना नेता र कार्यकर्ता पक्राउ परेको विरोधमा १६ गते शनिबार नेपाल बन्दको घोषणा गरेको महासचिव विप्लवद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ । यता चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी सरकारले तिव्र रुपले अघि बढाएको वताएको छ ।

 विप्लवद्वारा जारी विज्ञप्तिमा आफ्नो पार्टीमाथि प्रतिबन्ध घोषणा गर्दै वर्तमान सरकारले चरम फासिवाद लादेको आरोप लगाएर देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको टिप्पणी गरिएको छ । पार्टीका स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज सुदर्शन, पोलिटब्युरो सदस्य जीवन्त, केन्द्रीय सदस्यहरू प्रज्वलन, बन्धुलगायत दर्जनौं नेता–कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा उनीहरुको रिहाईका लागि स्थायी समितिको निर्णयअनुसार चैत १६ गते शनिबार देशव्यापी आमहड्तालसहित नेपाल बन्दको आह्वान गरिएको छ ।

 सम्मेलनको मिति नजिकिँदै जाँदा उपत्यका र आसपासका भेगमा सादा पोशाक र हतियार सहितका सुरक्षाकर्मी खटिएका छन् । सम्मेलनस्थल होटल सोल्टी आसपासका भेग, पाहुना बस्ने विभिन्न होटल, उपत्यकाका मुख्य चोक र विशिष्ट पाहुना ओहोर–दोहोर गर्ने सडकमा नियमित सुरक्षा निगरानी बढाइएको नेपाल प्रहरीले जनाएको छ । सम्मेलन आगामी शुक्रवार र शनिवार काठमाडौंमा हुँदै छ । यही समयमा बिप्लब समुहले आन्दोलनका साथै नेपाल बन्दको समेत घोषणा गरेको हुँदा लगानी सम्मेलन प्रभावित हुने आशंका उब्जिएको छ।

प्रतिक्रिया

सम्बन्धित