पलेँटीमा आभास, अनुभव सँगै डेढ दर्जन सांगीतिक रचना सुनाउने
काठमाडौं । विगत १३ वर्षदेखि पलेँटी संयोजन गर्दै आएका गायक तथा संगीतकार आभास स्वयं यसपटकको कार्यक्रममा प्रस्तुत हुने भएका छन् । नेपालयले संचालन गर्दै आएको लघु सांगीतिक कार्यक्रमको सुरूवात पनि आभाषकै गीतहरूबाट भएको थियो ।
केही समयको विश्रामपछि फ्रेब्रुअरीबाट पलेँटीलाई विषयवस्तु अथवा ‘थीम’मा आधारित हुने गरी पुनः सुरु गरिएको हो । त्यसअनुसार गत महिनाको पलेँटीमा नेपाली संगीतमा महिला गायनको चर्चा भएको थियो । यसपालीको विषय आभासको संगीतिक यात्रामा केन्द्रित हुनेछ । गत महिना जस्तै यसपटकको पलेँटीका ’न्यारेटर’ पनि आभास नै रहनेछन् । उनले यो महिनाको आफ्नो पलेँटीलाई ’मैले हिंडेको सांगीतिक गोरेटो’ शीर्षक दिएका छन् ।
सानै उमेरदेखि संगीतमा झुकाव भएका आभाससँग नेपाली संगीतका विविध धारसँग यात्रा गरेको लामो अनुभव छ । विविधताले भरिएको सांगीतिक यात्राले आफ्नो सोंचलाई फराकिलो बन्न मद्दत गरेको उल्लेख गर्दा आभासमा गर्वको अनुभूति देख्न सकिन्छ ।
कविकारूपमा समेत परिचय बनाएका आभास संगीतका तीनवटै विधा लेखन, गायन र संगीतमा क्रियाशील छन् । उनका सांगीतिक रचनाहरूले सामाजिक, राजनीतिक साथै मानव मनको निजात्मक भावलाई समेत समेट्ने गरेको पाइन्छ । संगीतका निम्ति रचना समेट्दा आभास आफ्नो वैचारिक घेरालाई फराकिलो बनाउन रुचाउँछन् ।
यस महिनाको पलेँटीमा आभासले विगतका आफ्ना अनुभवका साथ डेढ दर्जन जति सांगीतिक रचना सुनाउने छन् । कार्यक्रमका लागि आभासले विगतका सांगीतिक अभियान ’संकल्प’ र ’आस्था’ कालदेखि अहिलेसम्मका गीतलाई छनोटमा राखेका छन् । कार्यक्रममा उनले गीतसँगै विसं २०३६ साल र त्यस यताको उनको सांगीतिक यात्रा साथै त्यस यताका राजनैतिक तथा सामाजिक परिवर्तन र तिनमा रहेका विविध पक्षमा केन्द्रित आफ्नो संस्मरण पनि सुनाउने जनाइएको छ ।
प्रतिक्रिया