३१ करोड घोटलाका नाइके नेकपाका केन्द्रिय सदस्य ५ लाख धरौटीमा रिहा

badri

 काठमाडौँ। महिला बालबालिका तथा समाजकल्याण मन्त्री छँदा भृकुटीमण्डपस्थित फनपार्ककको जग्गा भाडाको अनियमितता अभियोगमा मुद्धा परेका पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने ५ लाख धरौटीमा रिहा भएका छन् ।

 भृकुटीमण्डपको ६० रोपनी जग्गा पूर्वमन्त्री टेकबहादुर गुरुङको फनपार्कलाई भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया उल्लंघन गरेको आरोपमा अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले  पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गरेको थियो।
विशेष अदालतका मुख्य न्यायाधीश बाबुराम रेग्मीसहित तीन न्यायाधीशको संयुक्त इजलासको आदेशपछि न्यौपाने बुधबार ५ लाख धरौटी तिरेर रिहा भएका हुन् । न्यौपानेविरुद्ध भृकुटीमण्डपस्थित फनपार्ककको जग्गा भाडामा दिने बेला राज्यलाई साढे ३१ करोड घाटा पुर्याएको अभियोगमा गएको माघ २१ गते अख्तियारले विशेषमा मुद्धा दायर गरेको थियो ।

 न्यौपाने महिला बालबालिका तथा समाजकल्याणमन्त्री हुँदा २०६० साल भदौ २० गते फनपार्क क्षेत्रको ६० रोपनी जग्गा प्रतिरोपनी प्रतिमहिना ९ हजार २ सय ५० रुपैयाँमा ठेकेदारलाई भाडामा दिने निर्णय भएको थियो ।
प्रचलित मापदण्ड र प्रकृया विपरित बदनियतपूर्ण तरिकाले ठेकेदारलाई जग्गा भाडामा दिँदा अहिलेसम्म ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा नोक्सान भएको देखिएकाले सोही बिगो माग दावी सहित अख्तियारले मुद्धा दायर गरिएको थियो ।

 बद्रीप्रसाद न्यौपाने चुरेभावर पार्टीबाट डा. बाबुराम भट्टराई सरकारमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री भएका थिए । त्यहीबेला उनले फनपार्कलाइृ जग्गा भाडामा दिंदा अनियमितता गरेका थिए ।

न्यौपाने २०७४ को चुनावअघि एमाले प्रवेश गरेका थिए । उनी हाल नेकपाको केन्द्रीय सदस्य हुन् । अनेरास्ववियुका पूर्वउपाध्यक्ष सोभियत ढकालको नाम काटेर उनलाई केन्द्रीय सदस्य बनाइएको थियो ।

त्यसैगरी टेकबहादुर गुरुङ सुशील कोइराला सरकारमा श्रम मन्त्री थिए । उनले फनपार्कको जग्गा विनाटेण्डर भाडामा लिएका थिए । उनी श्रम मन्त्री हुँदा पनि ठूला भ्रष्टाचारकाण्डमा मुछिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित