दुर्घटना न्यूनीकरणका लागि सूचना व्यवस्थापन प्रणालीको शुरुवात
ट्राफिक व्यवस्थापनलाई पेपरलेस बनाईंदै
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली (Road Accident Information Management System) को शुभारम्भ गरेका छन् ।
प्रहरी प्रधान कार्यालयमा नक्सालमा बिहीबार आयोजित विशेष कार्यक्रममा मन्त्री महासेठले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था बिभाग र नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए । सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा यस प्रणाली फलदायी हुने उनले बताए ।
कम्युनिस्ट सरकारले सडक सुरक्षामा बिशेष ध्यान दिन सडक सुरक्षा काउन्सिल बनाउने पहल गरिरहेको मन्त्री महासेठले उल्लेख गरे ।
ट्राफिक व्यवस्थापनलाई पेपरलेसमा लैजाने सरकारको चाहनालाई मूर्तरुप दिन ट्राफिक प्रहरीलाई प्रविधि सम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने उनले बताए ।
वैकल्पिक प्राविधिक व्यवस्थापन गर्न कोटेश्वर, चावाहिल चोकमा अन्डरपास तथा आकाशे पुल निर्माण, माइतीघर–त्रिपुरेश्वर बेलिब्रिज डिजाईन लगायतका योजना बनाई आगाडि बढेको महासेठले जानकारी दिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आगामी दिनमा दुर्घटना र यसबाट धनजनको क्षति नहोस् भन्ने उद्देश्यका साथ योजना निर्माण गर्न यो प्रणाली सहयोगी हुने बताए ।
सूचना प्रविधिमा नेपाल प्रहरी पुरस्कृत भईसकेको अवस्थामा नेपाल प्रहरीलाई विश्वास गरेर पेपरलेस पद्धतिमा आधारित यस प्रणाली जिम्मा दिएकोमा मन्त्रालयप्रति आभार व्यक्त गर्दै उनले यसबाट नेपाल प्रहरीको मनोबल उच्च भएको र अझै बढी उत्साह थपिएको बताए ।
ट्राफिक व्यवस्थापनमा हुने दुःख हटाउन नेपाल प्रहरीकोतर्फबाट बिशेष योजना बनाई आगाडि बढ्ने आइजीपी खनालले उल्लेख गरेका छन् ।
यसअघि झापा जिल्लाबाट दुर्घटना न्यूनीकरण गर्ने महाअभियान थालनी भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई राम्रो बनाउन तथा जामबाट पीडितलाई धेरै हदसम्म मुक्ति गर्ने योजनाका साथ सरोकारवाला पक्षसँग समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
लक्षित उद्देश्य प्राप्त गर्न र पीडितलाई न्याय प्रदान गर्न सूचना प्रविधिमा आधारित यो प्रणालीको भूमिका र योगदान महत्वपूर्ण हुने उनले बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयको सहकार्य तथा विश्व बैंकको अनुदानमा उक्त प्रणाली स्थापना गरिएको हो ।
प्रथम चरणको लागि काठमाडौं उपत्यकाका ३४ वटा ट्राफिक प्रहरी कार्यालय र काठमाडौंदेखि वीरगंजसम्मको करिडोरमा पर्ने ३० वटा ट्राफिक प्रहरी कार्यालयहरुलाई प्रहरी प्रधान कार्यालयको डाटा सेन्टरमा रहेको सर्भरमा कनेक्सन गरी सडक दुर्घटना भएपछि त्यस सम्बन्धी तथ्याङकहरू विद्युतीय प्रणाली मार्फत भण्डारण गरिनेछ ।
२०७५ मंसिर ५ गतेदेखि यस प्रणालीको सुरुवात भएदेखि हालसम्म ५ सय ३२ वटा सवारी दुर्घटनाको पूर्ण विवरण यस प्रणालीमा भण्डारण भएको छ ।
जसले गर्दा सवारी दुर्घटनाको कारण, स्थान र क्षतिको विवरण लगायत सम्बन्धित सूचनाहरु आवश्यक परेको बेला उपलब्ध गराई अनुसन्धान तथा दुर्घटना न्यूनीकरणमा सहयोग मिल्ने छ ।
प्रतिक्रिया