नेकपाका महासचिव पौडेलको छोराको नाममा यसरी आएको रहेछ बालुवाटारको आठ आना जग्गा ?

baluwatar

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको नाममा नामसारी भएको सरकारी जग्गा रोक्का गरिएको छ । आफू फस्ने भएपछि सरकारको प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्रीलाई समेत आफूलाई फसाइएको भन्न लगाएर बच्ने प्रयास गरेका पौडले यतिबेला यता न उताका भएका छन् ।

सरकारले महासचिव पौडेलले किनेको भनिएको प्रधानमन्त्री निवास बालुवाटार परिसरको आठ आना जग्गा रोक्का गरेको हो । पूर्वसचिव शारदा त्रितालको नेतृत्वमा गठित आयोगको सिफारिसका आधारमा मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि उक्त जग्गा रोक्का राखिएको जनाइएको छ ।

भूमि सुधार मन्त्री पद्मा अर्यालले जग्गा रोक्का गरेको जानकारी गराएकी छन् । आयोगले प्रधानमन्त्री निवास बालुवाटार परिसरको जग्गा सरकारी भएको बताएको छ।

महासचिव पौडेलका छोरा नवीनको नाममा रहेको कित्ता रोकिएको मन्त्री अर्यालले बताइन् । उनले प्रधानमन्त्री निवास परिसरका सबै जग्गा रोक्का भएको पनि बताइन् ।

जग्गा रोक्का भएपनि उनले पौडेलको नाममा रहेको जग्गा बैधानिक भएको भन्दै उल्टै उनीहरुकै बचाउ गर्न भ्याइन् । उनले भनिन्–‘मोही कायम भएर पुर्जा बनेर छैटौं मान्छेको रूपमा पौडेलले जग्गा प्राप्त गर्नुभएको देखिन्छ । मोहीको जग्गा किनेकोले वैधानिक छ। मोही कायम भएको जग्गामा सम्भवत अब प्रश्न उठ्दैन।’

यद्यपी मालपोत कार्यालयको अभिलेखमा भने अहिले पौडेलको नाममा भएको कित्ता मोही भनिएकी माया प्रजापतिको नाममा देखिन्छ। त्यसैले पनि पौडेललाई त्रिताल आयोगले भूमाफिया भनेका शोभाकान्त ढकाल र रामकुमार सुवेदीले खडा गरेका नक्कली मोही हुन् भन्न नहिच्किचाए हुन्छ ।

मोही प्रजापतिले उमा कुमारी ढकाल र माधवी सुवेदीका नाममा पास गरेको देखिन्छ। उमा शोभाकान्त ढकाल र माधवी राम सुवेदीकी पत्नि हुन्।

मोहीबाट उनीहरूको नाममा आएको जग्गा २०६१ सालमा पौडेलको नाममा नामसारी भएको देखिन्छ। उक्त कित्ताको ८ आना जग्गा ढकाल र सुवेदी बाट पौडेलले जम्मा ४ लाखमा किनेको डिल्लीबजार मालपोत कार्यालयको अभिलेखमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित