राज्यकोष दुरुपयोगमा महरालाई जिते तिमिल्सिनाले

krishna bdr mahara and ganesh timalsina

 काठमाडौं । संघीय संसदका पदाधिकारीहरू प्रायः काठमाडौं उपत्यकाभन्दा बाहिर जिल्ला भ्रमणमा जाने गरेका छन् । कहिले आफ्नै घर त कहिले सामान्य कार्यक्रममा सहभागी हुन जिल्ला भ्रमणमा जाँदा उनीहरूले दैनिक भ्रमण भत्ता (टिएडिए)का नाममा मोटो रकम असुल्ने गरेको तथ्य बाहिरिएको छ ।

 यसरी जिल्ला भ्रमण गर्नेमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पहिले नम्बरमा छन् । राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल दोस्रो नम्बरमा छिन् । अध्यक्ष तिमिल्सिनाले बैठक नै छोडेर समेत जिल्ला भ्रमण गरेका छन् । उनले बैठक छाडेर सामान्य कार्यक्रमहरू उद्घाटन गर्न हिँडेपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बिरोध गर्ने गरेको छ ।

 २०७४ साल चैतदेखि ०७५ साल मंसिरसम्मको विवरण अनुसार धेरै खर्च गर्नेमा पहिलो नम्बरमा अध्यक्ष तिमिल्सिनाको नाम छ । दोस्रो नम्बरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा परेका छन् । तेस्रो स्थानमा उपाध्यक्ष दाहाल र चौथो स्थानमा उपसभामुख शिवमाँया तुम्बाहाम्फे परेकी छिन् ।

 चारै जना पदाधिकारीको यो अवधिको कूल जिल्ला भ्रमण खर्च मात्रै ३६ लाख ३५ हजार ८ सय ४० रुपियाँ छ । उनीहरूले तलव तथा बैठक भत्ता छुट्टै पाउँछन् ।
कहिले बैठक नै छोडेर त कहिले संसद अधिवेशन चलिरहँदा समेत १–२ दिन खाली हुने वित्तिकै पदाधिकारीले जिल्ला दौडाहा गर्दा संसदलाई व्ययभार पर्ने गरेको छ । 

 पदाधिकारीसहितको भ्रमण टिमले भने टिएडिएका नाममा तलव भत्ताका अतिरिक्त मोटो रकम पाउने गरेको संसद सचिवालय उच्च स्रोतले जनाएको छ । सभामुख महराले एकै दिन (२०७५ कात्तिक १९ देखि २० सम्म) को निर्वाचन क्षेत्र दाङ भ्रमणका क्रममा हवाई भाडा १२ हजार ४ सय ७० सहित सवारी इन्धनका लागि भनेर ५० हजार १ सय ४७ रुपियाँ बुझेका छन् । २०७५ कात्तिक ३० देखि मंसिर १ गतेसम्ममहराको दमौली भ्रमणमा भने सवारी इन्धन बापत जम्मा १२ हजार मात्रै खर्च भएको देखिएको छ ।

 २०७४ साल चैतदेखि ०७५ साल मंसिरसम्मको विवरण अनुसार सभामुख महराले यो अवधिमा ९ पटक जिल्ला भ्रमण गरेका छन् । दाङ, रोल्पा, कास्की, उदयपुर र दमौली पुगेका महराले ९ पटक जिल्ला भ्रमण गर्दा ११ लाख २४ हजार ५ सय ७६ रुपियाँ टिएडिए बापत संसदबाट बुझेका छन् ।

 दाङ महराको निर्वाचन क्षेत्र तथा निवास समेत हो । महरा दाङमा बाक्लै जाने गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सबैभन्दा धेरै जिल्ला भ्रमण गरेका छन् । मोफसलका जिल्ला मात्र हैन, आफ्नो गृह जिल्ला पोखरा समेत उनले सर्वाधिक भ्रमण गर्ने थलो बनेको छ ।

 यो अवधिमा २१ पटक काठमाडौं छाडेका उनी १३ पटक पोखरा र बाँकी कैलाली, चितवन, काभ्रे, भैरहवा र पर्वत पुगेका छन् । भत्ता खानकै लागि तिमिल्सिना पोखरा मात्रै ११ पटक पुगेका छन् । ३ पटक कहाँ गएको हो भन्ने नै खुलाएका छैनन् । तिमिल्सिनाले १३ लाख ४५ हजार ७ सय १२ रुपियाँ ८ महिनाको बीचमा टिएडिए बापत मात्रै बुझेका छन् ।

 त्यसैगरी प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख र अध्यक्षको तुलनामा कम खर्च गरेकी छन् । पोखरा र दोलखा एक–एक पटक भ्रमणमा गएकी उनले ६ पटक आफ्नो गृह जिल्ला मोरङको विराटनगर पुगेकी हुन् । पटक–पटक गरी ८ पटक भ्रमण गरेकी उनले ४लाख ७८ हजार ६ सय ९७ रुपियाँ भ्रमण भत्ता बापत बुझेकी छन् ।

 उपाध्यक्ष दाहालले १ पटक सिरहा, १ पटक चितवन र १२ पटक आफ्नो गृह जिल्ला महोत्तरीको भ्रमण गरेकी छन् । यस बीचमा उनले ६ लाख ८६ हजार ८ सय ६४ रुपियाँ टिएडिए बापत संसदबाट बुझेकी छन् । संसदका पदाधिकारीहरूको तारन्तार, कहिले सामान्य कार्यक्रमका लागि त कहिले आफ्नो घर परिवार भेटघाटका लागि जाँदा समेत टिएडिएका रुपमा राज्यबाट भत्ता लिनाले राज्यकोषमा भार बढेको छ । (यूनाइटेड पोस्ट साप्ताहिक)

 

प्रतिक्रिया

सम्बन्धित