सिजन बनिन् बलिउडकी मुख्य अभिनेत्री
काठमाडौं । नेपाली चेलीले बलिउडकी मुख्य अभिनेत्री बन्ने अवसर पाएकी छन् । पी भन्साली प्रोडक्सन हाउसले निर्माण गरेको अभिनेत्री सिजनको चलचित्र ‘हर जनम मे मिलेंगे’ मा उनले मुख्य भूमिका निभाउने भएकी हुन् ।
भेरी नगरपालिका ३, पीपलडाँडाकी २१ वर्षीय सिजन पुनले बलिउडमा स्थान पाएकी हुन् । चलचित्रको हाल धमाधम छायांकन भइरहेको छ ।
मुख्य अभिनेत्रीको भूमिकामा अनुबन्धित सिजनले चलचित्र छायांकनको ६० प्रतिशत काम पूरा भइसकेको बताइन् । डेढ वर्ष पहिलेदेखि भारतको मुम्बईमा रहेर भारतीय टेलिभिजनका दुई सिरियलमा चरित्र अभिनेत्रीको भूमिका निर्वाह गरिसकेकी सिजनले पहिलो पटक ठूलो पर्दामा मुख्य नायिकाको भूमिका पाएकी हुन् ।
यसअघि सिजनले भारतीय टीभी च्यानल स्टार प्लसमा प्रसारण हुने ‘आरम्भ’ सिरियल र ‘क्राइम स्टोरी लक अप’ मा चरित्र अभिनेत्रीको रूपमा अभिनय गरिसकेको बताइन् ।
चलचित्रमा शशी शेखरको निर्देशन, प्रवीण भन्सालीको निर्माण र चन्दरको लेखन छ । चलचित्रमा दुई नायकका साथमा सिजनले अभिनय गरिरहेकी छन् ।
प्रतिक्रिया