१० स्थानमा चार्जिङ स्टेसन स्थापना गर्दै प्राधिकरण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उपत्यकाका १० स्थानमा चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । विद्युतीय सवारी प्रवर्द्धन गर्ने उद्देश्यसहित पहिलो चरणमा आफैंले काठमाडौंमा १० स्थानमा साना सवारीको चार्जिङ स्टेसन स्थापना गर्न लागिएको प्राधिकरणले जनाएको छ । तर, यसमा ठूला बस लगायतका सवारी पनि चार्ज गर्न सकिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै शहरका मुख्य भागहरुमा स्टेसन निर्माणका लागि स्थान उपलब्ध गराउन ब्यापारिक, कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताल लगायतलाई आग्रह गरेको छ ।
विशेष गरी धेरै चहल–पहल हुने शहरी क्षेत्रमा पहिलो चरणमा ‘डीसी बुस्ट चार्जिङ स्टेसन’ राख्न लागिएको हो ।
प्राधिकरणले तोकेको मापदण्ड अनुसार चार्जिङ स्टेसनका लागि तीनवटा गाडी एकैपटक चार्ज गर्न सकिने ठाउँ उपलब्ध हुनुपर्नेछ भने ५० वटा गाडी पार्किङको सुविधा हुनुपर्नेछ ।
हाल काठमाडौंमा ६ सय विद्युतीय सवारी रहेको अनुमान छ । तर, ती सवारीधनीमाथि लामो समय लगाएर घरमै चार्ज गर्नुको विकल्प छैन ।
अब भने छिटो चार्ज हुने गरी साना सवारीका लागि प्राधिकरणले शहरका विभिन्न भागमा सुविधा दिन लागेको हो । यो सुविधापछि विद्युतीय सवारीको प्रयोगकर्तामा आत्मविश्वास बढ्ने र थप विजुली गाडी प्रयोगमा आउन सुरु हुने विश्वास प्राधिकरणको छ ।
प्रतिक्रिया