यात्रुका चुरोट र सुर्तीमा एयरपोर्ट प्रहरीको मस्ती

air

 काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भित्रिएको भनिएको साढे ३३ किलो सुन काण्डको अनुसन्धानपछि तस्करीमा कमी आउने दाबी गरेको थियो । तर, पछिल्लो समय दैनिकजसो सुन तस्करी हुँदै आएको विमानस्थल प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिबाट नै प्रष्ट देखिन्छ ।

 विदेशी नागरिकसमेत सुन बोकेर नेपाल आउनेक्रम बढेको छ । त्यसमा पनि चिनियाँ नागरिकहरु बढि सक्रिय छन् । ३३ किलो सुन काण्डमा आधा दर्जनभन्दा बढि प्रहरी कारबाही परे । तर, अहिलेसम्म सुन भने भेटिएको छैन । 

 त्यसो त बिमानस्थलमा पास लिएका कर्मचारीहरुलाई समेत आवत जावत गर्दा चेकजाँचमा कडाई गर्न विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारीले मातहतका प्रहरीलाई निर्देशन दिएका छन् । कर्मचारीहरुलाई प्रत्येक पटक आवतजावत गर्दा साथमा भएका मोबाईल, घडी, पर्स, बेल्टलगायतका सम्पूण सामाग्रीहरु खोलेर मात्र पास होल्डर गेटबाट आवत जावत गर्नु पर्ने नियम एसएसपी भण्डारीले बनाएका छन् ।

 तर, प्रहरीहरुलाई भने जति पटक ओहोर दोहोर गर्दा पनि चेकजाँच गरिदैन । प्रहरीका कर्मचारीहरुले कहिल्यै पनि बाकथ्रु मेटल डिटेक्टर मेसिनको प्रयोग नगरी मेसिनलाई छलेर कुनाबाट ओहोर दोहोर गर्ने गरेको नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारी बताउँछन् । बिमानस्थलभित्र यो नियम सबैमा लागू हुनु पर्ने हो ।

 तर, नेपाल प्रहरीको हकमा भने लागू भएको छैन । ती कर्मचारीका अनुसार नेपाल प्रहरीका सिपाहीदेखि अधिकृत दर्जासम्मका कर्मचारीहरुले आफ्नो डिउटी सकिएपछि बिमानस्थलबाट बाहिरिदा प्रायजसो खालीहात बाहिरिदैनन् ।

 उनीहरुको हातमा यात्रुहरुको लगेजलाई डिपाचर एरियामा राखिएको व्यागेज एक्स्ररे मेसिनमा हाल्दा लान नमिल्ने भनेर छुट्याइएका सामानहरु हुन्छन् । त्यस्ता सामानहरुमा सबैभन्दा सुर्ती र चुरोट बढि हुने गरेको छ ।

 उक्त एक्सरे मेसिनमा पत्ता नलागेका र बिमानमा यात्रा गर्दा लैजान नमिल्ने अन्य समानहरु प्रस्थान अध्यागमन पार गरिसकेपछिको अन्तिम सुरक्षा जाँचमा रहेको मेसिनमा पत्ता लाग्दछ । र ती सबै लैजान नमिल्ने सामानहरु प्रहरी कर्मचारीहरुले नै घर लैजाने गरेको बिमानस्थलमा कार्यरत एक प्रहरी अधिकारी नै बताउँछन् । 

 प्रहरीका कर्मचारीहरुलाई डिउटीमा आउँदा होस् वा डिउटी सकेर जाँदा होस्, कुनै पनि समय एक्सरे मेसिनको प्रयोग नै नगरिने हुँदा उनीहरुले सहजै रुपमा यात्रुहरुबाट झिकिएका सरसामान लैजाने गर्दछन् ।

 प्रहरीले खाडी मुलुकमा जाने यात्रुहरुले लैजान लागेका सुर्ती, चुरोट, गुट्खा, परागजस्ता बस्तुहरुलाई प्रस्थान कक्षमा बिमानस्थल भित्र प्रवेश गर्ने अगावै झोलाको खानतलासी गरी झिक्ने गर्दछन ।

 बरामद गरेका त्यस्ता सामानहरु सहज तरिकाबाट प्रहरी कर्मचारीहरुले नै बिमानस्थल भित्र बसेर एकातिर सेबन गर्दै आएका हुन्छन् भने अर्कोतिर बाँकी रहेका सामानहरु घर लैजाने गरेको प्राधिकरणका ती कर्मचारी दावी गर्छन् । सिसीटिभी फुटेज हेरेको खण्डमा पनि प्रहरीका त्यस्ता हर्कतहरु प्रष्ट देखिने ती कर्मचारीको भनाई छ ।

विमानस्थलका प्रहरीमाथि यात्रुबाट झिकिएका सुर्ती र चुरोटका प्याकेट बिमानस्थल भित्रकै पसलहरुमा बिक्री गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।

 व्यापारी सुवास श्रेष्ठलाई निर्वाध रुपमा डलर तस्करी गर्न सघाउने एसएसपी सन्दिप भण्डारी भने यस्ता कुराहरुमा मौन रहेका कारण विमानस्थलमा अवैध गतिविधि बढ्ने देखिन्छ ।

 बैंकक जाने क्रममा अवैध डलरसहित पक्राउ परेका श्रेष्ठलाई छाड्न आदेश दिएपछि कारबाहीमा तानिने डरले पुनः आफैले श्रेष्ठलाई पक्राउ गरेपछि भण्डारीको गलत नियत बाहिर आएको थियो ।

 अहिले श्रेष्ठ भने गृहमन्त्रालय र एसएसपी भण्डारीलाई नै मिलाएर बन्द गरिएको प्रस्थान कक्ष अगाडिको पसल पुनः खोल्न लागेको बताउँदै हिड्न थालेका छन्,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ  । 

प्रतिक्रिया

सम्बन्धित