सूचना लिक भएपछि कर्मचारीलाई मन्त्रीको धम्की
काठमाडौं । भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले आफूविरुद्ध समाचार दिने कर्मचारीहरूको सातो लिएकी छिन् । मन्त्री अर्यालले मन्त्रालयका सचिव, सहसचिव र उपसचिवहरूलाई आफ्नो कार्यकक्षमा सोमबार बोलाएर धम्क्याएको मन्त्रालय स्रोतले बतायो । उनले आफूलाई महिला भनेर कर्मचारीहरूले असहयोग गरेको आरोप लगाएकी छिन् ।
मन्त्री अर्यालसहितको टोली सगरमाथाको आधार शिविर पुगेर फर्कदा करिव ५० लाख रुपियाँ खर्च भएको समाचार लिक भएपछि विवादले उग्ररुप लिएको हो । मन्त्रीको टोली वैशाख २८ गते सगरमाथा बेस क्याम्प पुगी त्यसै दिन साँझ काठमाडौँ फर्केको थियो ।
टोलीले त्यतिबेला बेस क्याम्पमा झन्डै एक घन्टा कार्यक्रम गरेको थियो । नेपाली प्राविधिकहरू सगरमाथाको मापनमा रहेका बेला अनुगमनका नाममा मन्त्रीसहितको टोली तीनवटा हेलिकोप्टर लिएर बेस क्याम्पमा पुगेको थियो ।
काठमाडौंबाट लुक्लासम्म जहाजमा पुगेको टोली त्यहाँबाट भने नेपाली सेना र सिम्रिक एयरका हेलिकोप्टरमा लिएर फर्किएको थियो । सगरमाथाको मापनका लागि भन्दै नापीद्वारा भाडामा लिइएका सिम्रक एयरका दुईवटा हेलिकोप्टर मन्त्रीको टोलीका लागि प्रयोग भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारका मन्त्री र कर्मचारीहरूले भ्रष्टाचार नगर्ने भनेर दैनिक जस्तै अभिव्यक्ति दिदै आएका छन् ।
तर, ओलीकै मन्त्रीले एकै दिन पचास लाख खर्च गरेपछि विवाद भएको छ । यो समाचार सार्वजनिक भएपछि मन्त्री अर्याल रिसाएर चुर बनेकी छिन् । उनले सोमबार मन्त्रालयका कर्मचारीहरूलाई पत्रकारहरूसँग भेटघाट नगर्न पनि चेतावनी दिएकी छिन् ।
अबका दिनमा आफूविरुद्धका समाचार पत्रकारलाई दिएको थाहा पाए कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएको स्रोतले जनाएको छ ।
सोमबार सचिव, सहसचिव र उपसचिवहरूलाई आफ्नो कार्यकक्षमा बोलाएर मन्त्रालयका समाचार पत्रकारलाई नदिन धम्की दिनुभएको छ’, एकजना कर्मचारीले भने, ‘सगरमाथा गएर आएको एक दिनको खर्च पचास लाख भएको भनेर कसले दिएको भनेर ¥याख¥याखती बनाउनु भएको छ ।’
प्रतिक्रिया