खेल निष्कर्षविहिन बनेपछि बल्ल १ अंक पायो दक्षिण अफ्रिकाले, आज बंगलादेश र श्रीलंका भिड्दै

icc cricket

  काठमाडौं । इंगल्याण्डमा जारी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तीन हारपछि चौथो खेलमा अंकको खाता खोलेको छ ।

दक्षिण अफ्रिका वेष्ट इण्डिजबीचको सोमबार रातिको खेल वर्षाले नतिजाविहीन भएपछि दुबैले १–१ अंक बाँडेका हुन् ।

वर्षा अगाडि भएको खेलमा दक्षिण अफ्रिकाले टस हारेर ब्याटिङ गर्दै ७.३ ओभरमा २ विकेटको नोक्सानीमा २९ रन जोडेको थियो ।

ओपनिङ ब्याट्सम्यान क्विन्टन डे ककले २१ बलमा नटआउट १७ रन बनाएका थिए । हसिम अम्ला ६ र आदेन माक्रम ५ रन बनाएर आउट भएका थिए ।

दुवै विकेट सेल्डन कोट्रेलले लिएका थिए । लगातार तीन हारपछि मात्र खेल रद्द भएपछि दक्षिण अफ्रिकाले १ अंक बटुलेको हो । वेष्ट इण्डिजले ३ खेलमा ३ अंक जोडेको छ ।

आज भने बंगलादेश र श्रीलंका भिड्दैछन् । ब्रिष्टलमा दिउँसो ३ः१५ मा हुने खेल जित्ने लक्ष्यसहित दुवै टिम मैदानमा उत्रने छन् ।

श्रीलंका ३ र बंगलादेश २ अंकमा छ । न्यूजिल्याण्ड ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित