सुनको मूल्यमा दिन दिनै नयाँ रेकर्ड, सिजनमा ग्राहक घट्दा व्यवसायी चिन्तित
काठमाडौं । पछिल्लो समय दिनहुँजसो सुनको मूल्य बढिरहेको छ । दैनिक पाँच सयसम्म घटी बढि हुँदै आएको सुन अहिले भने दैनिक १ हजार रुपैयाँले बढ्न थालेपछि नयाँ रेकर्ड कायम भएको छ ।
आज नेपालको इतिहासमै छापावाल सुनको मूल्य सबै भन्दा उच्च बिन्दुमा पुग्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ तोकिएको छ ।
बिहीबार प्रतितोला ६४ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ हजारले सुनको भाउ बढेको महासंघले जनाएको छ । त्यस अघि पनि बुधबार ६३ हजार प्रतितोलामा कारोेबार भएको छापावाल सुनको एकै दिन एक हजार रुपैयाँले बढेर बिहिबार नयाँ रेकर्ड बनाएको थियो ।
मूल्य बढेसंगै सुन किन्ने ग्राहक संख्या ज्यादै घटेको महासंघले जनाएको छ । प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य बजेटमा एक हजार कर थपिए पछि ६० हजार पुगेको थियो ।
यसरी दिन प्रतिदिन सुनको मूल्य बढ्नुमा आन्तरिक नभई बाह्य कारण रहेको महासंघको दावी छ । महासंघले इरान र अमेरिकाबीच चर्किदो विवाद, अमेरिका चीन व्यापार युद्धलगायतका कारणले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रभावित भएको हुन सक्ने जनाएको छ ।
प्रतिक्रिया