ओलीविरुद्धका प्रोपोगाण्डाले प्रचण्ड नै समस्यामा

prachanda-kp-oli

 काठमाडौं । नेपाली कांग्रेससँगको सहकार्य तोडेर तत्कालिन एमालेसँग सहकार्य गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा फड्को मारेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूर्लाइ फेरि पनि केही हतारो भएको संकेत गरेका छन् । प्रचण्डका सार्वजनिक अभिव्यक्तिहरूले त्यो संकेत गरिरहेको छ ।

 चितवनमा पुगेर प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गरेर अभिव्यक्ति दिइरहेका छन् । मंगलबारको एउटा सार्वजनिक कार्यक्रममा प्रचण्डले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा ब्याख्या नगर्न आग्रह गरे । भावी प्रधानमन्त्री भनेर सम्बोधन गर्दा समस्या आउने भन्दै उनले यसको धेरै चर्चा गरेमा झन समस्या आउन सक्ने बताए ।

 प्रचण्डले भने,‘जीतनारायणजीले प्रधानमन्त्री हुन लागेको भनि भन्नुभयो, हुन लाग्यो भनेर धेर चर्चा ग-यो भने झन् हुने कुरा पनि फुस्किन सक्छ ।’ कार्यक्रममा चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा सम्बोधन गरेपछि प्रचण्डले पनि मुख मिठ्याएका थिए ।

 प्रचण्डले चितवनमा आफू निकटका नेताहरूसँग पार्टी एकता हुँदाको सहमति कार्यान्वयन हुन नसकेको भनेर चिन्ता जनाएका थिए । पूर्वसहमति अनुसार ओलीले सरकारको नेतृत्व लिने तथा प्रचण्डले पार्टीको नेतृत्व सम्हाल्ने सहमति भएको थियो । डेढ वर्ष हुँदा पनि ओलीले सहमति कार्यान्वयनतिर ध्यान नदिएपछि प्रचण्डले आफूलाई डिफेन्समा प्रस्तुत गरेका छन् । बाहिर चर्चा जे भएपनि प्रचण्डले ओलीविरुद्ध बगावत गर्न सक्दैनन् । ओलीको कार्यशैलीबाट जानकार रहेका प्रचण्डका लागि आउँदा दिन झन् कठिन हुने पक्का छ ।

 सरकारको कार्यशैलीको विरोध र पार्टी समायोजनको कुरा उठाएर प्रचण्डले आफ्नो व्यक्तिगत उदेश्य पूरा गर्ने तयारी गरेपनि प्रधानमन्त्री बन्ने सोचमा प्रचण्ड छन् भन्ने ब्याख्या मिल्दो जुल्दो भने छैन । ओलीलाई चिढ्याएर प्रधानमन्त्री बन्नु भनेको प्रचण्ड पनि धेरै दिन प्रधानमन्त्रीमा रहन्छन् भन्ने छैन । ओलीले आफूलाई अप्ठ्यारोमा पारेर प्रचण्डलाई सत्ताको बागडोर दिने अवस्था आयो भने प्रधानमन्त्रीमा अरु नेताहरूलाई अगाडि बढाउन सक्छन् ।

 नेकपाका एक नेताका अनुसार ओलीले प्रचण्डलाई साइजमा राख्न धेरै अस्त्रहरू फ्याक्न सक्छन् । ओलीले प्रधानमन्त्रीका रुपमा वरिष्ठ नेता माधवकुमार नेपाल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेलसहितका नेताहरूलाई अगाडि सार्ने सम्भावना पनि उत्तिकै छ । प्रचण्डकै कारण अहिले नै सरकार ढल्ने सम्भावना निकै कम छ । प्रचण्डले आफ्ना परिवार र व्यक्तिगत स्वार्थका लागि ठूला निर्णयहरू लिँदै आएका छन् । यस पटक प्रचण्डका लागि सहज अवस्था छैन ।
प्रचण्डलाई पार्टी विभाजन गर्ने अवस्था पनि छैन । संविधानको व्यवस्थाले पार्टी विभाजन गर्न प्रचण्डलाई सहज छैन । मध्यावधीको अवस्था पनि देखिदैन । त्यही भएर राजनीतिक रुपमा बाहिर भएका सबै हल्लाहरू प्रचण्डले फैलाइएका अफबाहहरू भएको नेकपा स्रोत बताउँछ । प्रचण्ड अहिले कसै गरी भएपनि पार्टीको नेतृत्व हत्याउन चाहन्छन् ।  (यूनाइटेड पोस्ट साप्ताहिक )

प्रतिक्रिया

सम्बन्धित