संसद सचिवालयभित्र लिफ्ट काण्ड

sanghiya

 काठमाडौं । संघीय संसद सचिवालयभित्र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका राजनीतिक नेतृत्वले आर्थिक अराजकता मच्चाएको आरोप लाग्दै आएको छ । त्यही आरोपलाई पुष्टि हुने गरेर फेरि संसद सचिवालयले टेण्डर निस्काशन नै नगरी महँगो लिफ्ट हाल्न शुरु गरिएको छ ।

 संसद भवनको २ नं. भवनमा धमाधम लिफ्ट हाल्ने काम भइरहेको छ । एउटा निजी कम्पनीमार्फत चोरबाटोबाट लिफ्ट हाल्न लागिएको हो । स्रोतका अनुसार लिफ्टको मूल्य ५० लाख रहेको जनाइएको छ ।
सार्वजनिक खरिद ऐनअनुसार पाँच लाखभन्दा धेरैको काम गर्दा टेण्डर आह्वान गर्नुपर्छ । संसद सचिवालले राजनीतिक दवावमा टेण्डर आह्वान नै नगरी तोक आदेशका भरमा कामलाई टुक्र्याएर गरेको छ ।

 राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र सचिव राजेन्द्र फुयाँलको दवावमा संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले कागजपत्र मिलाएर २ नं. बिल्डिङमा लिफ्ट हाल्न लगाएको स्रोतले बतायो । संसद सचिवालयभित्र लिफ्ट छैन । यतिका वर्षसम्म लिफ्ट आवश्यक नरहेको भवनमा एकाएक किन लिफ्ट राख्न लागिएको हो भनेर प्रश्न उठेको छ । मितव्ययी हुनुपर्ने सरकारी निकायहरूले धमाधम फजुल खर्च गर्नुलाई धेरैले रहस्यका साथ हेरेका छन् ।

 यसअघि पनि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र सचिव फुयाँलले आफूहरूको कार्यकक्ष बनाउन एक करोडभन्दा धेरै रकम खर्च गरेका थिए । त्यो रकमका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले पत्र पठाएर संसद सचिवालयसँग स्पष्टीकरण पनि माग गरेको छ ।

 कार्यकक्ष बनाएको प्रकरण सेलाउन नपाउँदै आधा करोड खर्च गरेर अध्यक्ष तिमिल्सिना र सचिव फुयाँलले लिफ्ट हाल्न लागेका हुन् । प्राविधिकहरूले सुटुक्क लिफ्ट लगाउने काम गरिरहेका छन् । लिफ्ट हाल्न लागिएको विषयलाई संसद सचिवालयले गुपचुप राखेको छ । नियम विपरित लिफ्ट राखेपछि विरोध हुने डरले यो विषयलाई बाहिर ल्याउन दिइएको छैन ।

 लिफ्ट राखेको विषयमा सोधिएको प्रश्नको जवाफ दिन कुनै पनि कर्मचारीले मानेका छैनन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे विदेश भ्रमणमा छन् । अन्य कर्मचारीहरूलाई सोधिएको प्रश्नको जवाफ कसैले दिन मानेनन् ।

 संसद सचिवालयका हर्ताकर्ता नेकपा निकटका अधिराजकुमार राईलाई यसबारेमा सोध्न सम्पर्क गर्दा सम्पर्क हुन सकेन  । पछिल्लो समय नेकपाले दुईतिहाइको बहुमत ल्याएर सरकार बनाएपछि संसद सचिवालयमा पूर्वएमाले पृष्ठभूमि भएका नेताहरूले कब्जा जमाएका छन् । नेकपाको दवावमा संसद सचिवालयमा ६५ जना कर्मचारीहरू भर्ति भइसकेका छन् । नेपाली कांग्रेसले कुनै पनि विषयमा प्रतिक्रिया दिएको छैन ।

(यूनाइटेड पोस्ट साप्ताहिक)

 

प्रतिक्रिया

सम्बन्धित