किन झस्किए प्रचण्ड ?
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेचैन भएका छन् । उनका अभिव्यक्तिहरू प्रत्येक दिन फरक–फरक हुने गरेका छन् । कुनै पनि विषयमा दाहालले चित्त बुझ्ने गरेर जवाफ दिन छाडेका छन् ।
तत्कालीन एमालेसँग आफ्नो पार्टी माओवादी केन्द्रलाई मिसाउने क्रममा भएका सहमति नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबाट उल्लंघन गरिएको भन्दै दाहालले विरोध जनाइरहेका छन् । पार्टी समायोजन पनि झण्डै डेढ वर्षपछि भएको छ । त्यो पनि अझै थुप्रै विभाग र जिम्मेवारीमा दाहालले अडान छाडेपछि भएको हो ।
पार्टी एकीकरण गर्दा दाहालले शान्ति प्रक्रियाका बाँकी विषयहरू टुंग्याउने सहमति ओलीसँग गरेका थिए । ओलीले शान्ति प्रक्रियाको विषयमा हात हाल्नै चाहेका छैनन् । दाहालले चाहेअनुसार शान्ति प्रक्रियाको बाँकी विषयमा पनि काम हुन सकेको छैन । शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न गठन हुन लागेको सत्यनिरुपण तथा मेलमिलाप आयोगमा नेकपाका अध्यक्ष दाहालले रोजेको व्यक्ति चयन गर्न ओलीले संकेत दिएको स्रोतको भनाइ छ । दाहालले रोजेको व्यक्ति नै सत्य निरुपणको अध्यक्ष हुने प्रतिबद्धता ओलीले जनाएको बुझिएको छ ।
ओली र दाहालबीचको पछिल्लो सहमतिअनुसार सत्य निरुपण नेकपाले लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई भने बेपत्ता छानबिन आयोगको अध्यक्ष रोज्ने जिम्मेवारी दिने तयारी छ । ओली र दाहालले यसबारे कांग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् । देउवाले बेपत्ता आयोग लिन अस्वीकार गरिरहेकाले दुवै आयोगको अझै नेतृत्व चयन हुन सकेको छैन ।
दुवै आयोग गत चैत मसान्तदेखि नेतृत्वविहीन अवस्थामा छन् । एमाले निकटका नेताहरूले अधिवक्ता एवम् एनजिओकर्मी गोविन्द बन्दीलाई सत्य निरुपणमा नेतृत्व दिन चाहेका छन् । नेपाली कांग्रेसले सूर्य ढुंगेललाई बेपत्ता आयोगको नेतृत्वमा लैजान खोजेको छ ।
नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अनौपचारिक कुराकानीका क्रममा दाहालले रोजेको व्यक्तिलाई सत्य निरुपणमा राख्नुपर्ने बताउने गरेका छन् । गोविन्द बन्दीप्रति दाहाल सकारत्मक छैनन् । गोविन्द बन्दी माओवादीका कट्टर आलोचक मानिन्छन् । स्रोतका अनुसार असार १२ गते खुमलटार पुगेर गोविन्द बन्दीले विगतका कुरा बिर्सन दाहाललाई अनुरोध गरेका थिए । उनले दाहाललाई नयाँ परिस्थितिअनुसार चल्न सुझाएका थिए ।
शान्ति प्रक्रिया टुंगोगमा पुग्न नसक्दा माओवादी पृष्ठभूमि भएका नेकपाका नेताहरूलाई विदेश भ्रमणमा निस्कन तनाव भइरहेको छ । युद्ध अपराध र मावनअधिकार हननको अभियोगमा युरोपियन युनियन र अमेरिकनहरूले विदेश भ्रमणका क्रममा जति बेला पनि पक्राउ गर्न सक्ने भन्दै पूर्व माओवादीका नेताहरू डराउने गरेका छन् ।
त्यति मात्रै होइन पूर्व माओवादी नेताहरूलाई अन्तर्राष्ट्रिय अदालतमा लगेर कारबाही गर्नेसम्मको तयारी एमाले पृष्ठभूमि भएका अधिकारकर्मीहरूले चलाएका एनजिओ र आइएनजिओहरूले भित्रभित्रै हर्कत गरेपछि नेकपाका अध्यक्ष दाहालसहितका नेताहरूको मनमा चिसो पसेको छ ।
सरकारले देउवालाई फकाएर शान्ति प्रक्रियाको बाँकी काम भित्रभित्रै मिलाउन खोजेको पनि छ । तर, नेपाली कांग्रेसले अहिलेकै अवस्थामा शान्ति प्रक्रियालाई टुंग्याउने पक्षमा खासै चासो देखाएको छैन । कांग्रेसको अनिच्छापछि दाहाललाई सबैभन्दा धेरै तनाव भएको छ । यस्तै अवस्या रह्यो भने अन्तर्राष्ट्रिय युद्ध अपराध अदालतबाट जेलसम्म जाने अवस्था पूर्व माओवादीका नेताहरूलाई आउन सक्ने चर्चा चलेको छ । (यूनाइटेड पोस्ट साप्ताहिक )
प्रतिक्रिया