गुप्तचर प्रमुखको मनपरीले विभाग लथालिङ्ग

rawa

 काठमाडौं । नेपालको एकमात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) दयनिय अवस्थामा पुगेको छ । राम्रा र दक्ष कर्मचारीहरूलाई उपत्यका बाहिर सरुवा गरेर बिहान बेलुका प्रधानमन्त्री, मन्त्री तथा नेताहरुको सचिवालयका पिएहरूको चाकडी गर्नेलाई केन्द्रमा राखिएपछि राअवि दयनिय अवस्थामा पुगेको हो ।

 विभागलाई गृहमन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा लगेर दक्ष कर्मचारीका साथै सुविधा सम्पन्न बनाउने भनिएको थियो । तर, प्रधानमन्त्री कार्यालयमा लगेपनि गुप्तचर विभागका प्रमुख गणेश अधिकारीले व्यावसायिक र दक्ष कर्मचारीहरूलाई अवसर नदिएर चाकडी गर्नेहरूलाई अवसर दिएपछि असन्तुष्टि बढेको स्रोतले जनाएको छ । अधिकारीले गृहसचिव प्रेमकुमार राई र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बराबरीको सम्बन्ध बढाउँदै लगेको स्रोतले जनाएको छ ।

 त्यति मात्रै होइन गुप्तचरका प्रमुख अधिकारी र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालको पछिल्लो समय सम्बन्ध बाक्लिएको छ । आईजीपी खनाल अधिकारीलाई भेट्न सिंहदरबारको दक्षिण गेटस्थित गुप्तचरको विभागमा बाक्लै आउजाउ गर्दै आइरहेको स्रोत बताउँछ ।

 सशस्त्र प्रहरीका आईजीपी खनालले गुप्तचरका आईजीपी अधिकारीको सम्बन्ध प्रचण्डसँग सुधार गरिदिएको समेत चर्चा चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर पूर्वसहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री बन्ने चर्चा शुरु हुनेवित्तिकै अधिकारीले खनालमार्फत खुमलटारसँग सम्बन्ध सुधार गरेको स्रोतको दाबी छ । अधिकारी र खनालको यस्तै कार्यले गर्दा प्रधानमन्त्री ओली उनीहरुसँग चिढिएको बुझिएको छ ।
शुरुमा प्रधानमन्त्री ओलीका विश्वासपात्र रहेका गुप्तचर प्रमुख अधिकारी पछिल्लो समय प्रचण्डको निर्देशनमा चल्ने गरेको विभागका एक उच्च अधिकारी बताउँछन् । प्रचण्डकै योजनामा गुप्तचर विभागमा सरुवा/बढुवा समेत भइरहेको स्रोत बताउँछ । गुप्तचरका डिआइजी होतराज थापालाई प्रदेश १ मा सरुवा गरिएको छ ।

 डिआइजी टेकेन्द्र कार्कीलाई प्रदेश २ मा सरुवा गरिएको छ । थापा र कार्की काममा दक्ष र व्यावसायिक डिआइजीमा पर्छन् । प्रदेश २ का डिआइजी सुमन वैद्यलाई केन्द्रमा झिकाइएको छ ।
गुप्तचरीमा राम्रो दख्खल राख्ने डिआइजीहरू कृष्ण खनाल र सञ्जय यादवलाई सुरक्षा परिषदमा लगेर थन्काइएको छ ।

 व्यावसायिक क्षमता राख्ने खनाल र यादवलाई सुरक्षा परिषद्मा लगेर थन्काइएपछि विभागभित्र सरुवा आतंक मच्चिएको छ । शक्ति केन्द्र धाउनेलाई आकर्षक र राम्रो ठाउँमा राखिएको छ । राजनीतिक सम्बन्ध नभएका एआईजी, डिआइजीहरूलाई काम नलाग्ने ठाउँमा सरुवा गरेर थन्काइएको छ ।

 राजनीतिक शक्तिको आडमा विभागमा अड्डा जमाएर बसेकाहरूले आफ्ना चालक, पत्नी, छोराहरूका नाममा सूचना संकलनको बहाना बनाएर तलव बुझ्ने गरेको आरोप लाग्ने गरेको छ ।
पछिल्लो समय गुप्तचर विभागका ठूला हाकिमहरूले सरकारी विकासे कार्यालय, विभाग र अड्डाहरूलाई निशानामा राखेका छन् ।

 विभाग प्रमुख अधिकारीमाथि सुशासनका लागि भन्दा पनि हचुवाको भरमा रिपोर्ट तयार पार्ने गरेको आरोप छ । उपत्यकामा भएका विप्लव समूहका आपराधिक गतिविधिमा गुप्तचर विभागले कुनै सूचना हात पार्न सकेको छैन । अनामनगरको बम काण्डदेखि एनसेल बम काण्डसम्मका सूचनामा विभागले कुनै सुइको पाउन सकेको छैन ।

 गुप्तचरको गलत रिपोर्टिङले प्रधानमन्त्री ओली समेत बेलाबेला समस्यामा पर्दै आएका छन् । हुन त दुई–तीन महिना अगाडि गुप्तचर विभागमा दुई जना एआईजीलाई डिआइजीमा घटुवा समेत गरिएको थियो ।

 यो घटुवा काण्ड गुप्तचर विभागको इतिहासमा पहिलो घटना भएको बताइन्छ । यसअघि घटुवा हुनेमा एआईजीद्वय यादव रेग्मी र मधु कार्की थिए । पछि उनीहरू आफूलाई अन्याय परेको भन्दै सर्वोच्च अदालत गएका थिए ।

 सर्वोच्च अदालतले उनीहरूलाई घटुवा गर्ने निर्णय वदर गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि रेग्मी र कार्की काममा फर्किए पनि जिम्मेवारी नदिइएको स्रोतको भनाइ छ । उनीहरूलाई पूर्व प्रमुख दिलीप रेग्मीको मान्छे भएको ट्याग लगाइएको छ,यूनाइटेड पोस्ट साप्ताहिकमा समाचार छ

 

प्रतिक्रिया

सम्बन्धित