हनुमन्ते नदि सफाई अभियानको ७४ औं हप्तामा डोलेश्वर मन्दिरको सरसफाई गरिदै
भक्तपुर । हनुमन्ते नदि सफाई अभियानको ७४ औं हप्तामा डोलेश्वर मन्दिरको सरसफाई गरिने भएको छ । अभियानको बुधबार बसेको बैठकले भक्तपुरको सिपाडोलमा रहेको डोलेश्वर मन्दिर आसपासको क्षेत्रमा सरसफाई गर्ने निर्णग गरेको थियो ।
साउन महिनालाई भगवान शिवको महिना मानिन्छ । त्यसैले साउन महिनाभरी शिव मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । त्यसमाथि पनि साउने सोमबारमा भने शिव मन्दिरमा हिन्दू धर्मावलम्वी महिलाहरुको बढि भिड हुन्छ ।
यही साउन महिनाको अवसरमा हनुमन्ते नदि सफाइ अभियानले केदारनाथको शिर मानीने डोलेश्वरमा सरसफाई गर्ने भएको हो ।
सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलका अध्यक्ष किरण थापाको प्रमुख आतित्थ्यमा हुने कार्यक्रममा सहभागिता जनाउनका लागि हनुमन्ते नदि सफाइ अभियानले सम्पूर्ण अभियान्ताहरु, स्थानीयबासीलगायत विभिन्न संघ संस्थालाई समेत आग्रह गरेको छ ।
नेकपाका युवा नेता एवम् प्रतिनिधिसभा सदस्य महेश बस्नेतकाे अगुवाइमा ‘उठौं, जागौं हनुमन्ते नदि सफा गर्न सबै लागौं’ भन्ने मुल नाराका साथ शुरु भएको हनुमन्ते नदि सफाई अभियानको ७३औं हप्ता पूरा भइसकेको छ । ७३औं हप्तासम्म आइपुग्दा अभियानले हनुमन्ते नदि मात्र नभई अरनिको राजमार्ग, गाउँ टोलमा समेतमा सफाई अभियान सञ्चालन गरेको छ ।
प्रतिक्रिया