नगरकोट सडक निर्माणमा चरम लापरवाही भएको समितिको निस्कर्ष
भक्तपुर ।
नेपाल भ्रमण बर्ष २०२० नजिकिएसँगै उपत्यकाको प्रमुख पर्यटकीय गन्तब्य नगरकोट पुग्ने सडक ६ वर्ष सम्म निर्माण समपन्न नभएकोले आइतबार प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत सहितको टोलिले अनुगमन गरेको छ ।
समितिकी सभापति कल्याणी कुमारी खड्कासहित सांसद महेश बस्नेत, भक्तपुरका जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र, भक्तपुर प्रहरी प्रमुख एसपी सबिन प्रधान, सुर्यबिनायक नगरपालिका उप-प्रमुख जुना बस्नेत, स्थानीय जनप्रतिनिधि एबम् स्थानीयहरुले सडकको स्थलगत अनुगमन गरेका हुन् । टोलीले सडक निर्माणको ठेक्का पाएको शैलुङ निर्माण सेवाले निर्माणमा चरम लापरवाही गरेको निस्कर्ष समेत निकालेको छ । एक्जिम बैंक इन्डिया’ को १ प्रतिशत ऋण सहयोगमा कर सहित ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँ लागतमा सन २०१४ जुन ५ मा सम्झौता भई २०१६ जुनसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित सडक विस्तारको जिम्मा पाएको उक्त सडक खण्ड आरामाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रसन कम्पनी प्रालिको चरम लापरबाहिका कारण तीन पटक म्याद थप गर्दा समेत सडक बिस्तारको काम सम्पन्न हुन सकेको छैन् ।
अनुगमन पछि नगरकोटमा भएको अन्तर्त्रिया कार्यक्रममा समितिकी सभापति कल्याणी कुमारी खड्काले कमिसनको खेलमा आयोजना अलपत्र परेको बताउँदै समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीको कार्यप्रगति चौमासिक कार्ययोजनासहित समितिमा पेस गर्न निर्देशन समेत दिएकी छन् ।
अन्तर्त्रिया कार्यक्रममा सम्बोधन गर्दै सांसद बस्नेतले नगरकोट जाने सडक निर्माण सम्पन्न नभएका कारण दुई पटक अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरु हुन नसकेको बताए । सार्क सम्मेलन, बिमस्टेक सम्मेलनमा यो बाटाकै कारण अतिथिलाई स्वागत गर्न नसकिएको स्मरण गर्दै बस्नेतले भने "नेपाल भ्रमण बर्ष २०२० मा नगरकोटमा पर्यटक ल्याउन नसके भक्तपुर आर्थिक विकास र समृद्धिमा पछि पर्ने छ , त्यसैले निर्माण कम्पनी जिम्मेवार हुन जरुरि छ" ।
आगामी दिनमा अलपत्र हैन ठोस योजनाका साथ निर्माण सम्पन्न गरी नगरकोटको भाग्य र भविष्य खुल्ला गर्नुपर्ने बताउँदै सांसद बस्नेतले सरकारको अंगको रुपमा सडक विभाग तथा प्रविधिको रुपमा ठेगदार रहनेहुँदा ठेगदारले काम नगर्ने अनि गाली प्रधानमन्त्री तथा पार्टीका अध्यक्षलाई जाने गरेकोमा दुःखेसो समेत व्यक्त गरेका थिए । उनले आयोजना समयमा निर्माण गर्न जनस्तरबाट निरन्तर खबदारी हुँदा सुनुवाइ नभएकाले संसदीय समिति गुहार्नुपरेको समेत बताए ।
समितिले बैठक बसेर सरकारलाई उचित निर्देशन दिने अपेक्षा गर्दै सांसद बस्नेतले सडक निर्माणको क्रममा जनस्तर तथा जनप्रतिनिधिबाट दिएको दबाब समितिको निर्देशन पछि प्रभावकारी हुनेमा आफु विश्वास्त रहेका समेत बताए । भक्तपुरमा हुने धेरै समस्याहरु जनप्रतिनिधि, जिल्ला प्रशासन, प्रहरी, सम्बनधित निकाय तथा सरोकारवाला व्यक्तिहरुबिच छलफलको माध्यमबाट समस्या समाधान भएको उदाहरण प्रस्तुत गर्दै काममा गुणस्तरियता कायम गर्नुपर्नेमा उनको जोड थियो ।
अनुगमनका क्रममा निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको स्वामित्वमा रहेको निर्माण कम्पनी शैलुङ्ग कंस्ट्रक्सनले नगरकोट पर्यटन व्यवसाय समेत धरासायी भएको भन्दै स्थानीयवासीले आक्रोस समेत व्यक्त गरे । सडक खण्डअन्तर्गतका नगरकोट, मण्डनदेउपुर, छालिङ, बागेश्वरी, सुडालका स्थानीय बासिन्दाको भेलाले स्थानीय राजकुमार लामिछानेको संयोजकत्वमा सडकपिडित संघर्ष समिति गठन गरेका थियो । संघर्ष समितिले चाँगुनारायण नगरपालिका, जिल्ला प्रशासन कार्यालय भक्तपुर हुँदै संसदीय समितिसमेतलाई दबाब दिँदै थियो । दवास समुहका अध्यक्ष राजकुमार लामिछानेले भक्तपुर क्षेत्र नं। १ का प्रतिनिधिसभाका सांसद तथा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललाई जनताले चिन्न समेत समस्या भएको बताउँदै सांसद सुवाल जनताको समस्या तथा सुख दुःखमा उपस्थित नहुने गरेको बताए । लामिछानेले वर्तमान समयमा उक्त सडकको समस्याहरु प्रस्तुत गर्दै निर्माण कम्पनीले चरम लापरवाही गरेको जानकारी गराएका थिए । उनले सडक निर्माणका क्रममा कुनै समस्या उत्पन्न भए स्थानीयवासीले नै समाधान गर्ने भन्दै निर्माण कम्पनीले कुरा गर्ने तर काम नगर्ने गरेको बताए।
पर्यटन व्यवसायी धन बहादुर लामाले शारदा अधिकारी ठेकदार पर्नु नै नरकोटको दुर्भाग्य भएको बताउँदै विदेशीको गालीले नेपालीको शिर झुकेको बताए । त्यस्तै स्थानीयवासी यादव अधिकारी, मोहन वीर श्रेष्ठ, धिरज वाइवालगायतले सडकको वर्तमान अवस्थाले भोग्नुपरेको समस्याको वारे जानकारी गराउँदै आगामी दिनको योजनाको समेत माग गरेका थिए ।
स्थानीयवासीले समेत निर्माण कम्पनी तथा सरोकारवाला निकायसँग २ वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने काम ६ वर्षसम्म सम्पन्न गर्न नसक्नुको दोष निर्माण कम्पनी की सरकारको भएको भनि प्रश्न गरेका थिए । जसमा उत्तर दिँदै कम्पनीका प्रतिनिधि सुदन गैरेले सरकारद्वारा रकम निकासा नगरेको, करिव ३० महिनासम्म निर्माण स्थलमा रुख काट्न नपाएको, दिनमा टिपर चलाउनु नपाउने र रातमामात्र चलाउनुपर्ने भएकाले आवश्यक सामग्री व्यवस्थापन गर्न नसकेकोले निर्धारित समयमा सम्पन्न गर्न नसकेको बताए। उहाँले हालसम्म करिव ६० प्रतिशत प्रगति भएको साथै ९५ प्रतिशत स्ट्रक्चर तयार भइसकेकोले यो आर्थिक वर्षभरमा निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रतिक्रिया