नख्खु कारागारभित्र दुई जना कैदीबन्दीबीच झगडा हुँदा एक जनाको मृत्यु
काठमाडौं । ललितपुरको नख्खु कारागारमा दुई जना कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मृत्यु हुनेमा जबरजस्ती करणीको मुद्दामा जेल सजाय काटिरहेका ३५ वर्षीय पूर्ण राजी छन् ।
राजीमाथि ज्यान मार्ने उद्योगमा कैद जीवन भुक्तान गरिरहेका कैदी ५० वर्षीय पवन कुमार महतोले टाउकोमा प्रहार गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका उनलाई वीर अस्पतालमा ल्याइएको थियो । अस्पतानमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
महतोले भुइँमा विच्छ्याइएको ब्लकले राजीमाथि प्रहार गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका राजीको उपचारका लागि वीर अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको हो ।
महतो र राजी दुवै जना कोठाबाहिर घाम तापेर बसेका थिए । एक्कासी कुटाकुट भएपछि अन्य कैदीबन्दी गएर छुट्टाएका थिए ।
दुई जनाबीच किन झगडा भयो भन्ने विषयमा अनुन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रबिन्द्र धानुकले जानकारी दिए ।
प्रतिक्रिया