सिटौलालाई छाडेर प्रकाशमानको गुटमा गगन

Gagan-Thapa-2

काठमाडौं । नेपाली कांग्रेसले आफूलाई सरकारविरुद्ध आक्रामक बनाउन नसकेको बेला नेताहरू संगठन निर्माणको विषयमा केन्द्रीत हुन थालेका छन् । दुईतिहाइको बहुमत रहेको सरकारबाट एकपछि अर्को गर्दै पेलानमा पर्न थालेका नेपाली कांग्रेसका नेताहरूले अब पार्टीको संगठनलाई बलियो बनाएर अगाडि बढ्ने योजना बनाएका हुन् ।

 अहिलेको सरकारको पेलानबाट बच्नका लागि संगठन बनाउनु नै उपयुक्त देखिएको भन्दै कांग्रेस नेताहरु एकजुट हुन लागिपरेको एक युवा नेताले बताए । पार्टी बैठकभित्र एकअर्कालाई आक्षेपहरू लगाउने गरेपनि पछिल्लो समय नेपाली कांग्रेसका नेताहरूमा कम्युनिस्ट सरकारको पेलानबाट बुद्धि फिरेको चर्चा छ ।

नेपाली कांग्रेसका नेताहरूले अब आफूलाई सार्वजनिक रुपमा एक देखाउने प्रयास थालेका छन् । सभापति शेरबहादुर देउवा निकटका नेताहरूले सार्वजनिक ठाउँहरूमा विरोधी गुटहरूलाई गाली गरेका छैनन् ।

देउवा निकटका केन्द्रीय सदस्य महेन्द्र यादवले भक्तपुरमा तरुण दलले आयोजना गरेको कार्यक्रममा सभापति देउवा र रामचन्द्र पौडेललाई गाली गरेर कांग्रेसलाई फाइदा नहुने बताए । नेता यादवले नेताहरूलाई गाली गर्न नहुने बरु संगठन निर्माणमा ध्यान दिनुपर्ने बताएका थिए । उनको यो अभिव्यक्तिले नेपाली कांग्रेसभित्र चर्चाको विषय बनेको छ ।

 नेपाली कांग्रेसभित्र सबै विषयमा लोकतान्त्रिक रुपमा बहस छलफल भएपनि नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थलाई ध्यान दिँदा विवादले उग्ररुप लिएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला समूहले महधिवेशनलाई लिएर बखेडा गरेका थिए । त्यो विषयलाई पनि देउवाले आन्तरिक रुपमा छलफल गरेर टुंग्याएका छन् ।

 देउवाको विरोध गर्ने नेताहरू पनि संगठन निर्माणको विषयमा तयार छन् । तर, केही नेताहरू आफ्नो राजनीति समाप्त हुन्छ कि भनेर डराएर देउवाको विरोध गर्ने गरेको नेताहरूको भनाइ छ ।
उता, युवा नेता गगन थापा सिटौला समूहबाट आफूलाई बाहिर निकाल्ने पक्षमा देखिएका छन् ।

 थापाले आफूलाई प्रकाशमान सिंहसँग निकट बनाउँदै लगेका छन् । १४औँ महाधिवेशनसम्म थापा आफूलाई नेता सिंहको समूहबाट बार्गेनिङ गरेर अगाडि बढ्ने पक्षमा देखिएका छन् । आफूलाई महामन्त्रीको उम्मेदवारका रुपमा थापाले प्रस्तुत गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित