पुडासैनी आत्महत्या प्रकरण : चौबीसकोठीदेखि मालपोत चोकसम्म निषेधित क्षेत्र घोषणा
चितवन । जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । दिनहुँ प्रर्दशन र नारावाजी हुन थालेपछि प्रशासनले यी क्षेत्रलाई निषेधित घोषणा गरेको हो ।
रबि लामिछाने पक्राउ परेकै भोलिपल्टदेखि प्रर्दशन र नारावाजी हुन थालेपछि प्रशासनले शान्ति कायम गर्न बाध्य भएर क्षेत्रलाई निषेधित घोषणा गरेको जनाएको छ ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणबारे अनुसन्धान गर्न रविलगायतका सञ्चारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको पक्ष र विपक्षमा केही दिनदेखि यी क्षेत्रमा प्रदर्शन हुँदै आएको छ । अहिले जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।
यसअघि लामिछानेका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको थियो। घटनामा एक असईसहित सातजना प्रहरी घाइते भएका थिए। चार जनाको खुट्टा र तीन जनाको हातमा चोट लागेको थियो ।
पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएका लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएपछि प्रर्दशन थप चर्किएको छ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका पत्रकार पुडासैनी नारायणगढको पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा साउन २० गते राती मृत फेला परेका थिए। आत्महत्या अघि पत्रकार पुडासैनीले मोबाईलमा रेकर्ड गरेको भिडियोमा कार्की, लामिछाने र कडेंलका कारण मर्नु परेको बताएका थिए।
यसैबीच, चितवनका राजनीतिक दलहरूले पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणबारे निष्पक्ष छानबिन गर्न प्रशासनलाई सहयोग गर्ने सहमति गरेका छन् ।
रवि लामिछानेलगायतका सञ्चारकर्मी पक्राउको विषयलाई लिएर पक्ष र विपक्षमा नाराबाजी हुन थालेपछि त्यहाँ क्रियाशील राजनीतिक दलहरूले आइतबार सहयोग गर्ने सहमति गरेका हुन् । दलहरूले घटनाबारे निष्पक्ष छानविनका लागि सहयोग गर्न र शान्तिपूर्ण प्रर्दशन गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया