सीटीइभीटीको करोडौं कीर्ते काण्डमा मुछिए सदस्य सचिव, मिलेमतोमै ठाकुर फरार

CTEVT (1)

 काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत कार्यालयहरुमा कीर्ते गरी करोडौं रकम झिकिंदा समेत परिषद्का सदस्यसचिव पुष्परमण वाग्ले मौन बस्नुलाई रहस्यमयको रुपमा लिइएको छ ।

 सीटीइभीटीको प्रदेश २ र वीपी पोलिटेक्नीक धनुषाको नाममा राष्ट्रिय बाणिज्य बंैक धनुषा शाखामा जम्मा भएको झण्डै २ करोड रकम कीर्ते गरी झिकिएको ६ महिना नाघिसकेको छ ।

 कीर्ते गरी रकम झिक्ने कार्यमा प्रदेश २ का कार्यालय प्रमुख नागेन्द्र साह, लेखापाल ब्रम्हदेब ठाकुर तथा बीपी पोलिटेक्नीकका राजेन्द्र चौधरी र प्रविन ठाकुर समेत गरी ४ जना संलग्न रहेको आशंका गरिएको छ । कार्यालय प्रमुख साह सदस्य सचिव वाग्लेका खास मान्छे हुन् ।

 स्रोतका अनुसार ठाकुरले बैंकबाट नगद झिकेर माथिल्ला कर्मचारीहरुलाई समेत दिएको हुँदा ठाकुरमाथि कारबाही हुन सकेको छैन । यद्यपी सीटीइभीटीले जिल्ला प्रहरी कार्यालय धनुषामा ठाकुर विरुद्ध मात्रै उजुरी दिए अन्य कर्मचारीहरुलाई जोगाउन पनि खोजेको छ ।

 ठाकुर अहिले फरार छन् भने धनुषा प्रहरीले कीर्ते काण्डको अनुसन्धान गरिरहेको जनाएको छ । यस सम्बन्धमा सीटीइभीटीले छानविन गरेको जनाएपनि अझैसम्म प्रतिवेदन सार्वजनिक नगर्नुलाई सीटीइभीटीकै बद्नियतको रुपमा लिइएको छ ।

 प्रहरीले ठाकुरसहित नागेन्द्र साह, ब्रम्हदेव ठाकुर र राजेन्द्र चौधरीलाई बयान लिएर अनुसन्धान गरेको खण्डमा उनीहरुसमेत पक्राउ पर्ने प्रदेश २ का एक कर्मचारी दावी गर्छन् । स्रोतका अनुसार यी तीन जनालाई जोगाउन स्वयम् सदस्यसचिव वाग्ले समेत लागि परेका छन् ।

 २०७५ माघदेखि नै ठाकुरले दुबै कार्यालयबाट पटक–पटक रकम झिकेका थिए । उनले केही रकम आफ्नो खातामा ट्रान्सफर गरेको र केही रकम झिकेको देखिन्छ । हरेक महिना महिनामा हिसाब मिलाउनुपर्नेमा सीटीइभीटीले ६ महिना लगातार रकम झिकिंदा समेत किन वास्ता गरेन ? जवकी २०७६ साउन महिनामासमेत ठाकुरले रकम झिकेका थिए ।

 छ महिनासम्म पनि बैंकमा रहेको हिसाब चेकजाँच नगर्र्नुमा उच्च कर्मचारीहरुकै मिलिमतो रहेको शंका गर्ने प्रसस्त आधारहरु देखिन्छन् । हरेक महिना बैकको हिसाब मिलान गरी केन्द्रमा प्रतिबेदन पठाउनु पर्नेमा किन त्यसो गरिएन ? बैकसँगको हिसाब मिलान गरेको भए तुरुन्तै जानकारी हुने हुँदा थप रकम हिनामिना नहुने कर्मचारी स्रोत बताउँछ ।

 आफ्नो कार्यालयको खर्चको स्थितीको बारेमा कार्यालय प्रमुख र लेखा प्रमुखले जाँच गरिरहनु पर्नेमा छ महिनासम्म पनि वास्ता नगर्नु आफैमा ठूलो हेलचेत्र्mयाइ र लापरवाही हो । आर्थिक बर्षको अन्त्यमा अनिबार्य रुपमा बिबरण बनाउँदा हिसाब मिलाउन नसकेपछि मात्र घटना सार्वजनिक भएको थियो ।

 यसअघि कीर्ते गरी रकम झिकेको विषयमा विभिन्न सञ्चारमाध्यमा समाचार आएपछि सीटीइभीटीले खण्डन गर्दै प्रविन ठाकुरलाई मात्र दोषी देखाउने गरी प्रहरीमा उजुरी दिएको जानकारी गराएको छ । यद्यपी ठाकुरले त्यति ठूलो रकम हिनामिना गर्दा उनीभन्दा माथिका कर्मचारीलाई अवश्य पनि जानकारी गराएको र उनीहरुकै मिलेमतोमा ठाकुर फरार भएको स्रोतको दावी छ ।(यूनाइटेड पोस्ट साप्ताहिक )

 

प्रतिक्रिया

सम्बन्धित