स्वास्थ्योपचार सकेर काठमाडौं आइपुगे प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वास्थ्योपचार गरी शुक्रबार स्वेदेश फर्किएका छन् ।
उनी सिंगापुरबाट थाइल्यान्ड हुँदै मध्यान्ह थाई एयरवेजबाट काठमाडौं आइपुगेका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन् । उनले अघिल्लोपटक जस्तै योपटक पनि पत्रकार सम्मेलन गरेनन् । ओली ५ भदौमा सिंगापुर गएका थिए ।
भदौ ५ गते मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री आज १६औं दिनमा स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो।
प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न नेकपाका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि सिंगापुर पुगेका थिए। उनीहरु पनि प्रधानमन्त्रीसँग फर्किँएका छन्।
उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए।
प्रधानमन्त्रीका साथमा धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह भने फर्किसकेका छन्।
प्रतिक्रिया