आजबाट उपत्यकामा सार्वजनिक विद्युतीय बस, नगद नभए पनि भाडा तिर्न सकिने

bus

  काठमाडौं । सुन्दर यातायातले आजबाट उपत्यकामा सार्वजनिक विद्युतीय बस सञ्चालनमा ल्याएको छ । सुन्दर यातायातले आफ्ना सावरीसाधनका लागि गत भदौ १७ गते विद्युतीय चार्जिङ स्टेसन बनाएपछि आजबाट सर्वसाधारणका लागि यातायात सुचारु गरेको जनाएको छ ।

आजबाट सञ्चालनमा आएका विद्युतीय बस पाँच रुटहरूमा सञ्चालन हुने सुन्दर यातायातले जनाएको छ ।

जसमध्ये चक्रपथ परिक्रमा, नारायणथान–जावलाखेल–मेडिसिटी अस्पताल, गोंगबु–सामाखुसी–गौशाला–कोटेश्वर–सल्लाघारी, ढुंगेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीर अस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–अत्तरखेल र सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीर अस्पताल–जमलसम्म सञ्चालन हुनेछन् ।

यात्रुले यो बसमा यात्रा गर्दा कार्ड, ई–सेवा, प्रभु पे, खल्ती, आईएमई पेमेन्ट गेट वे तथा नगदबाट पनि भाडा तिर्न सक्ने छन् । यदि नगद नै भाडा तिर्ने हो भने सहचालकलाई नोट दिने र उक्त नोट बराबर सहचालकले दिएको सिक्का बक्समा राख्नुपर्ने छ ।

विद्युतीय बसको भाडा १५ देखि २० प्रतिशत सस्तो गराउने पहल गरिरहेको सुन्दर यातायातले जनाएको छ ।

कम्पनीका अनुसार २१५ रुपैयाँको कार्ड खरिद गर्दा यात्रीले २६५ रुपैयाँ बराबरको यात्रा गर्न सक्नेछनन् ।

सुन्दर यातायातले ल्याएको विद्युतीय बसमा आकर्षक र सुविधायुक्त बनावटको छ । बसमा अगाडिका सिट होचो र पछाडिको सिट अग्लो छ ।

bus 1

 

प्रतिक्रिया

सम्बन्धित