चन्द्रागिरिमा चिनियाँ विदेश मन्त्रीको डेढ घन्टा
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले चन्द्रागिरिको भ्रमण गरेका छन्।
सोमबार बिहान भ्रमण टोलीका साथमा चन्द्रागिरि पुगेका यीले झन्डै डेढ घन्टा चन्द्रागिरि आसपासमा ट्रेकिङ गरेका हुन् ।
उनीसहितको टोली पर्यटकीय स्थल चन्द्रागिरि अवलोकनका लागि पुगेको हो । प्रहरीले उनी बसेको होटलदेखि चन्द्रागिरिसम्मको सुरक्षा व्यवस्था मजबुत बनाएको छ।
चन्द्रागिरि क्षेत्र सुरक्षाका लागि महानगरी प्रहरी वृत्त थानकोटका डीएसपी कुमारविक्रम थापाको कमान्डमा प्रहरी टोली परिचालन भएको थियो ।
तीन दिने नेपाल भ्रमणका क्रममा चीनका विदेशमन्त्री वाङ आइतबार काठमाडौं आइपुगेका हुन् ।
केबुलकारबाट माथि पुगेका यी त्यसपछि पैदल यात्रा गर्दै मन्दिरसम्म पुगेका थिए । चन्द्रागिरीले नेपालको भौतिक विकासमा गतिलो उदाहरण दिएको बताउँदै यीले अन्य क्षेत्रमा पनि उपयुक्त पूर्वाधार बनाएर नेपालले पर्यटकलाई आकर्षित गर्न सक्ने धारणा राखे ।
प्रतिक्रिया