गच्छदार हिरो बन्न खोज्दा कांग्रेसमा समस्या

bijayagachha

 काठमाडौं । तत्कालीन लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा समायोजन भएको दुई वर्ष भइसकेको छ । लोकतान्त्रिक फोरमलाई कांग्रेसमा समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा कार्यदल बनेको छ । कार्यदलले कछुवाको गतिमा काम गर्दै आएको छ ।

 दुई वर्षसम्म पनि लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई कांग्रेसमा समायोजन गर्न नसक्दा कार्यकर्तामा निरासा छाउनु स्वभाविक हो । नेपाली कांग्रेसमा विजयकुमार गच्छदार मात्रै समायोजन भएका छन् । अरु नेताहरु समायोजन हुन सकेका छैनन् । गच्छदारले समायोजन नभएका तत्कालीन फोरम लोकतान्त्रिक पार्टीका नेताहरुलाई देखाएर नेपाली कांग्रेसभित्र बार्गेनिङ गर्दै आएको खुलासा भएको छ । गच्छदारको यो हर्कत मंगलबार छताछुल्ल भएको छ ।

 सभापति शेरबहादुर देउवाले पार्टीको दोस्रो चरणको हिमाल, पहाड, तराई मधेस राष्ट्रिय जागरण अभियानमा फोरम लोकतान्त्रिकका नेताहरुलाई पनि केन्द्रीय प्रतिनिधिका रुपमा खटाएका छन् । ती नेताहरु तोकिएको जिल्ला जान तयारी अवस्थामा थिए । तर, गच्छदारले ती नेताहरुलाई फोन गरेर केन्द्रीय प्रतिनिधिका रुपमा जान दिएनन् । ‘कांग्रेसभित्र कुरा मिलेको छैन । तपाईहरुलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको छ । नजानु होला’, फोरम लोकतान्त्रिक निकटका एक पूर्वमन्त्री समेत रहेका नेताले नाम उल्लेख नगर्ने सर्तमा भने,‘गच्छदारले हामीलाई जान दिनु भएन । आफू भने कार्यक्रममा सहभागी हुन सुनसरी जानुभयो । तर, उहाँले हामीसँग आफू पनि कार्यक्रममा नजाने बताउनु भएको थियो ।’

 नेपाली कांग्रेसका उपसभापति गच्छदारले तत्कालीन फोरम लोकतान्त्रिकका नेताहरुलाई देखाएर पार्टीभित्र बार्गेनिङ गरेपछि विभिन्न आशंकाहरु जन्मिएका छन् । गच्छदारकै कारण फोरम लोकतान्त्रिकलाई समायोजन गर्न ढिलाइ भएको हो कि भनेर आशंकाहरु उठेका छन् ।

 गच्छदारले आफू निकटका नेताहरुलाई कांग्रेसका नेताहरुले धोका दिएको बताउने गरेका छन् । तर, भदौ २४ गतेको राष्ट्रिय जागरण अभियानमा जानबाट नेताहरुलाई रोकेकोमा आलोचना बढेको छ । फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरी भने उपसभापति गच्छदारको निर्देशन बेवास्ता गरेर कैलालीको जागरण अभियानमा सहभागी भए । कार्यक्रममा प्रमुख अतिथि बनेर उनले गज्जबको भाषण समेत गरे । उनले फोरम लोकतान्त्रिकलाई छिटोभन्दा छिटो पार्टीमा समायोजन गरेर काम दिन माग गरेका थिए ।

 यता, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघभित्रको विवादलाई उठाएर केही नेताहरुले जागरण अभियानलाई विथोल्ने प्रयास गरेका छन् । भ्रातृ संस्थाहरुलाई पूर्णताको माग गर्दै उनीहरुले सभापति देउवाको आलोचना गरे । वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका नेविसंघका विद्यार्थी नेताहरुले जागरण अभियान देशभरि चलिरहेका बेला रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर नेतृत्वको आलोचना गरे । उनीहरुले सभापति देउवाविरुद्ध आन्दोलन नै घोषणा गरेका छन् ।

 नेपाल तरुण दलमा पनि पूर्णताको विषयलाई लिएर विवाद भएको छ । महासचिव भुपेन्द्रजंग शाहीले जागरण अभियानलाई लिएर अध्यक्ष जितजंग बस्नेतको परिपत्रलाई काट्ने गरेर अर्को परिपत्र जारी गरेपछि विवाद बाहिर आएको छ । त्यति मात्रै होइन महासचिव शाहीले सप्तरी जिल्लामा तरुण दलको अध्यक्ष तोक्नेदेखि सिन्धुपाल्चोकका पूर्वउपाध्यक्षको कारबाही फुकुवासम्म गर्ने निर्णय गरेपछि अध्यक्ष बस्नेत झन् रिसाएका छन् । अध्यक्ष बस्नेतले बुधबार विज्ञप्ति जारी गरेर महासचिव शाहीका सबै निर्णय खारेज गरिदिएका छन् ।

 मिलेर काम गरेका अध्यक्ष बस्नेत र महासचिव शाहीबीच कार्यकालको अन्त्यतिर भएको विवादलाई लिएर ठूलो आशंका उब्जिएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने शाही र सभापति शेरबहादुर देउवा निकट मानिने अध्यक्ष बस्नेतबीच अहिले आएर विवाद भएकोमा धेरै युवा तरुणहरुले चिन्ता जनाएका छन् । तरुण दलको कार्यकाल सकिदै गर्दा पनि चार जनाले केन्द्रीय कार्यसमितिलाई हाँकेका छन् । तरुण दलको उपाध्यक्ष उत्तम चापागाइँ कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहका हुन् भने कोषाध्यक्ष विद्धान गुरुङ खुमबहादुर खड्का निकट मानिन्छन् । (यूनाइटेड पोस्ट साप्ताहिक )

 

प्रतिक्रिया

सम्बन्धित