एकीकरणको कुरा विथोलिएपछि उपेन्द्रको पद धरापमा
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीको नेपालवीचको पार्टी एकीकरण प्रक्रिया विथोलिएको छ । वार्ता र एकीकरणको कुरा विथोलिएपछि नेताहरु आ–आफ्नो दुनो सोझ्याउन सक्रिय भएका छन् । राजपाका नेताहरुले समाजवादी पार्टीबाट नै धोका पाएको आरोप लगाएका छन् ।
राजपाको यो आरोप मान्न समाजवादी पार्टी तयार छैन । नेताहरुको व्यक्तिगत स्वार्थका कारण राजपा र समाजवादी पार्टीबीचको एकीकरण प्रक्रिया विथोलिएको हो । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीलाई सत्तामा टिकाइ राख्ने रणनीतिअनुसार राजपा नेपालसँग पार्टी एकताको जाल फालेका थिए ।
डा.बाबुराम भट्टराईसँग पार्टी एकीकरण गरेर दुई वटा पार्टी कब्जा गरेर बसेका उपेन्द्र यादवले राजपाभित्र पनि पार्टी एकीकरणको कुरा उठाएर दुई वटा फाइदा लिन खोजेपनि सफल हुन सकेनन् । स्वास्थ मन्त्री समेत रहेका यादव डा.भट्टराईलाई फसाउन सफल भएपनि राजपालाई जालमा पार्न सकेनन् ।
यादवको चाल बुझेका राजपाका संयोजक राजकिशोर यादव र अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले पार्टीभित्र विद्रोह गरेर पार्टीलाई बचाएका थिए । राजपाका केही दोस्रो तहका नेताहरुलाई उचालेर उपेन्द्र यादवले पार्टी एकीकरणको जाल फ्याकेका हुन् । यादवको जालमा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरत्सिंह भण्डारीहरु समेत परेका थिए ।
पार्टी एकीकरण भएपछि सरकारमा सहभागी गराएर मन्त्रीको आश्वासन दिएका उपेन्द्र यादवको कुरा बीचमै लिक भएपछि वार्ता प्रक्रिया विथोलिएको थियो ।
अहिले पनि उपेन्द्र यादवले वार्ता र पार्टी एकताको कुरा उठाएर डा. भट्टराईलाई पार्टीमा थन्काएर राखेका छन् । पार्टीको सिनियारिटीमा दोस्रो नम्बरमा रहेका भट्टराई पछिल्लो समय उपेन्द्र यादवसँग रिसाएर बसेका छन् । डा.भट्टराईले उपेन्द्र यादवका हर्कतको विरोध गर्न थालेका छन् । आफू निकटका नेताहरुसँग डा.भट्टराईले गुनासाहरु गर्ने गरेको जनाइएको छ ।
उता, राजपा नेपालभित्र पनि पार्टी एकीकरणको कुरा बिथोलिएपछि नेताहरुले आ–आफ्नो रणनीति बनाउन थालेका छन् । अबको केही महिनापछि हुने भनिएको महाधिवेशनमा नेताहरु केन्द्रित हुन थालेका छन् । राजपाका संयोजक राजकिशोर यादवले पार्टी एकीकरणभन्दा पनि पार्टीका महाधिवेशन गरेर संगठन बनाउने विषयमा आफूहरु केन्द्रित रहेको बताए । उनले बिचार मिल्ने दलहरुसँग पार्टी एकीकरणको विषय जीवित रहेको बताए । तर, यो विषयलाई अन्य दलहरुले पनि जिम्मेवारी रुपमा लिनुपर्ने बताएका छन् ।
हुन त राजपा नेपालले पनि समाजवादी पार्टीलाई सत्ताभन्दा बाहिर ल्याएर केपी शर्मा ओली नेतृत्वको बलियो दुईतिहाइको कम्युनिस्ट सरकारलाई अप्ठेरो बनाउन सकिन्छ कि भनेर रणनीति बनाएको थियो । त्यो रणनीति पनि पूरा भएन । त्यसपछि रन्थनिएको राजपाले असोज ३ गतेको संविधान दिवस बहिस्कारको निर्णय गरेको छ ।
संविधानअनुसार सांसद बनेका राजपाका नेता र प्रदेश सरकारमा सहभागी मन्त्रीहरु नै संविधान दिवस बहिस्कारमा लागेका छन् । उपेन्द्र यादवको पार्टीले पनि संविधान दिवस नमान्ने निर्णय गरेको छ ।
राजपा सत्ताभन्दा बाहिर रहेकाले उसको आलोचना भएको छ । तर, उपेन्द्र यादवलाई जस्तो समस्या छैन ।
उपेन्द्र यादव संविधानअनुसार उपप्रधान एवम् स्वास्थ्यमन्त्री बनेका छन् । सेवा सुविधाहरु लिएका छन् । त्यही संविधानको आलोचना गरेर बहिस्कारसम्म गर्न भ्याएका छन् । उपेन्द्र यादवको यो हर्कतको विरोध हुँदै सत्ताबाट गलहत्याउन माग उठिरहेको छ । यही अवस्था रह्यो भने प्रधानमन्त्री ओलीलाई उपेन्द्र यादवलाई हटाउन ठूलो दवाव पर्नेछ । ओलीले पनि यो विषयलाई गम्भिरतापूर्वक लिनेछन् ।(यूनाइटेड पोस्ट साप्ताहिक )
प्रतिक्रिया