चिनियाँ राष्ट्रपतिको भ्रमण अगावै गुप्तचरहरू सल्बलाए

Raw-China

 काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने चर्चा चलेसँगै चीन र भारतीय जासुसी संयन्त्रको चासो नेपालमा बढ्न थालेको छ । विशेष गरेर यी दुई ठूला देशका गुप्तचर निकायहरू नेपालमा सलबलाउन थालेका छन् । चीनले आफ्ना राष्ट्रपति सी जिनपिङको भ्रमणलाई लिएर ठूलो चासो र चिन्ता जनाउन थालेको स्रोतले जनाएको छ ।

 सी जिनपिङ सिधै नेपाल भ्रमणमा आउने छैनन् । उनी भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा काठमाडौं उत्रनेछन् । सी जिनपिङ काठमाडौं उत्रिने भएपछि चिनियाँ सुरक्षाकर्मीहरूले अहिले देखिनै भित्रभित्रै तयारी थालेका छन् । विशेष गरेर चीनलाई तिब्बती शरणार्थीको प्रदर्शनको चिन्ता छ । यो विषयले चीन चिन्तित रहँदै आएको छ ।

 अमेरिका र भारतले तिब्बती शरणार्थीलाई उचालेर राष्ट्रपति सी जिनपिङको भ्रमण बिथोल्ने हो कि भन्ने चिन्ता पनि चीनलाई छ । तर, यो हदसम्म भारत र अमेरिका जालान या नजालान ? त्यो भने राष्ट्रपतिको भ्रमणकै बेला थाहा होला । यता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ सम्बन्धमा भएको कुराकानीलाई लिएर अमेरिकी राजदूतले आपत्ति जनाएको कुरा बाहिर आएको छ ।

 परराष्ट्र मन्त्रालयमा सचिव शंकरदास बैरागीलाई भेटेर अमेरिकी राजदूतले आपत्ति जनाएका हुन् । ‘नेपाल र अमेरिकाबीचको सम्बन्ध चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा आउँदा हामीलाई दुःख लागेको छ । के चिनियाँ विज्ञप्तिमा आएको कुरा नेपाल सरकारको आधिकारिक धारणा हो’, भेटमा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी डब्लु बेरीले परराष्ट्रसचिवलाई सोधेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
नेपालका लागि अमेरिकी राजदूत बेरी र काठमाडौंस्थित अमेरिकी दूतावासका उपनियोग प्रमुख म्यानुएल पी. मिक्कलर, जुनियर परराष्ट्र सचिवलाई भेट्न बिहीबार मध्यान्ह परराष्ट्र मन्त्रालय पुगेका थिए । स्रोतका अनुसार अमेरिकी राजदूतले परराष्ट्र सचिवसँग दुई देशबीचको कुरा तेस्रो देशको विज्ञप्तिमा कसरी पर्न गयो भनि जिज्ञासा राखेका थिए ।

 चिनियाँ विदेशमन्त्री वाङ गत आइतबार तीनदिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आएका थिए । मंगलबार स्वदेश फर्कनुअघि उनले दाहालसँग भेटवार्ता गरेका थिए । सोही दिन चिनियाँ विदेश मन्त्रालयले प्रचण्ड–वाङ भेटवार्ता सम्बन्धी विज्ञप्ति जारी गरेको थियो ।

 विज्ञप्तिमा प्रचण्डको भनाई उदृत गरिएको थियोे, ‘इन्डो–प्यासिफिक स्ट्राटिजी’लाई अस्वीकार गर्छ, चीनको विकास रोक्ने कुनै पनि प्रयासको विरोध गर्दछ, चीनको विकास नेपालको लागि अवसर हो भन्ने सधै विश्वास राख्छ र चीनको सफल अनुभवबाट सिक्न चाहन्छ ।’ यही भनाईलाई लिएर अमेरिकी राजदूतले आपत्ति जनाएका हुन् ।

 हुन त चिनियाँ राष्ट्रपति जियाङ जमिनले सन् १९९६ मा काठमाडौंको भ्रमण गरेका थिए । त्यसयता नेपालमा धेरै राजनीतिक तथा सामाजिक परिवर्तन भएको छ । चीनले यो अवधिमा तीव्र आर्थिक वृद्धि हासिल गर्दै आफूलाई विश्वशक्ति राष्ट्रका रूपमा आफूलाई स्थापित गरेको छ ।

 यो अवधिमा तारन्तार नेपालका नेता, प्रशासक र अन्य कैयौँ प्रभावशाली व्यक्तिले बेइजिङको भ्रमण गरे । चीनबाट पनि त्यहाँका कैयौँ उच्च नेताहरू एवम् सैनिक अधिकारीहरूले काठमाडौंको भ्रमण गरेका छन् । योसहित दोस्रो कार्यकाल सम्हालिरहेका राष्ट्रपति सी जिनपिङको काठमाडौं भ्रमणको साइत अझै जुरेको छैन ।

 नेपालले लगातार तिब्बतको मामिलामा चीनलाई साथ दिइरहेको छ । दुई देशबीच गहिरो मित्रता पनि छ । योबीचमा नेपालमा स्थिर सरकार बनेको छ र दीर्घकालीन महत्वका विषयमा कुरा गर्न सक्ने अवस्था छ । यस्तो बेलामा पनि चिनियाँ राष्ट्रपतिको भ्रमण भएन भने नेपालले प्राथमिकता नपाएको सन्देश जान्छ ।

 अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग चीनको उहानमा एक्लाएक्लै वार्ता गरेका चिनियाँ राष्ट्रपति सी सन् २०१९ को अक्टोबरमा त्यस्तै प्रकृतिको वार्ताका लागि भारतको बनारस आउने प्रबल सम्भावना रहेको विवरणहरू आइरहेका छन् ।

 उक्त शिखर बैठकको तयारीका लागि भारतीय विदेशमन्त्री एस जयशंकरले अगष्टको मध्यमा चीन भ्रमण गर्दैछन् । सरकारी अधिकारीहरू भने चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणको निम्तो स्वीकार गरिसकेको र उपयुक्त समयमा भ्रमण हुने आश्वासन पाएको बताउँछन् ।

 पछिल्लो पटक परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जुलाई महिनामा आफ्ना समकक्षी वाङ यीसँग गरेको भेटवार्तामा पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विषय उठेको अधिकारीहरू बताउँछन् । त्यसबेला जारी गरिएको विज्ञप्तिमा नेपालको परराष्ट्र मन्त्रालयले दुई देशबीचको मैत्री सम्बन्धलाई थप बलियो बनाउन उच्च तहका भ्रमणहरूलाई निरन्तरता दिने भन्नेबारे ठोस छलफल भएको उल्लेख छ ।

 राष्ट्रपतिको तहमा चीनबाट २३ वर्ष यता नेपालको भ्रमण नभए पनि हालैका वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरू र चीनका उच्च अधिकारीहरूले नियमित रूपमा काठमाडौंको भ्रमण गरिरहेका छन् । त्यसमध्ये सबैभन्दा उच्च तहको भ्रमणका क्रममा सन् २०१२ को जनावरीमा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ आधा दिनका लागि काठमाडौं ओर्लिएका थिए ।(यूनाइटेड पोस्ट साप्ताहिक )

प्रतिक्रिया

सम्बन्धित