स्वतन्त्र छानविनका लागि भन्दै सभामुख महराद्वारा ‘म्यादी’ राजीनामा

mahara rajinama

  काठमाडौं । सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।

जबर्जस्ती करणीको आरोप लागेका महराले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसमक्ष आज राजीनामा दिएका हुन ।

संसद सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीले जबर्जस्ती करणीको आरोप लगाएपछि छानविनका लागि सहयोग होस भनी नैतिकताको आधारमा राजीनामा दिएको सभामुखद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा सभामुख महराले छानबिन प्रक्रिया नसकिएसम्मका लागि राजीनामा दिएको उल्लेख गरेका छन् ।

महराले उपसभामुखलाई सम्बोधन गरीसंघीय संसद नेपाल, प्रतिनिधिसभाको आफ्नै नामको लेटरहेड मार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’
दिएको राजनीनामामा उल्लेख छ ।

उनको राजीनामापत्रमा सभामुख पदबाट मात्रै राजीनामा दिएको प्रष्ट हुन्छ । किनभने उनले संघीय संसदको सभामुखको लेटरप्याडमा राजीनामा दिएका छन् ।

प्रतिनिधिसभाको सभामुख भनेको राज्यका अति विशिष्ट पदमध्येको एक हो । जसमा राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख, प्रधानन्यायाधीशलगायत पदलाई अति विशिष्ट पद भनिएको छ ।

महराले दिएको राजीनामामा उनीमाथि लागेको आरोप पुष्टि नभएमा उनी सोही पदमा फर्कने आशय देखिन्छ । ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु’ भन्ने वाक्यांशले उनले म्यादी राजीनामा दिएको संकेत गर्छ ।

तर, निश्चित समय र प्रयोजनका लागि राजीनामा दिने र पछि फेरि सोही पदमा फर्कन्छु भन्ने आशयको राजीनामा दिन मिल्ने नमिल्ने सुविधा सभामुखलाई छ कि छैन भन्ने अर्को कानुनी प्रश्न पनि खडा भएको छ ।

सरकारी सेवामा रहेका कर्मचारीमाथि कुनै अभियोग लाग्यो भने छानबिन प्रक्रिया नसकिँदासम्म त्यस्तो व्यक्ति निलम्बनमा पर्छ । तर, सभामुखको हकमा यस्तो व्यवस्था हुन नसक्ने भएकोले उनले राजीनामा दिनुको विकल्प थिएन ।

कतिपय राजनीतिज्ञ र संविधानविद्हरु भने महराले राजीनामापत्रमा रहस्यमयी चलाखी गरेको दावी गर्छन् ।

महराले सभामुख पदबाट राजीनामा दिए पनि उनको सांसद पद भने सुरक्षित रहेको छ । तर, नेकपाले भने सांसदबाट पनि राजीनामा दिन आग्रह गरेको थियो ।

तर, महरामाथि लागेको अभियोगमा अदालतमा मुद्दा दायर भएपछि सांसद पद स्वतः निलम्बन हुने कानुनी प्रावधान छ ।

यद्यपी महराविरुद्ध अहिलेसम्म कसैले यो अभियोगमा किटानी जाहेरी दर्ता गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित