किन मौन भए रावल ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्री र नेताहरूलाई धेरै नबोल्न निर्देशन दिएसँगै मन्त्रीहरुको ओठ तालु सुकेको छ । धेरै बोल्दा सरकार र पार्टी विवादमा आएको भन्दै ओलीले नेता र मन्त्रीहरूलाई अनावश्यक रुपमा नबोल्न निर्देशन दिएका हुन् ।
ओलीको निर्देशनपछि मन्त्रीहरू सार्वजनिक ठाउँमा बोल्न छाडेका छन् । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा बाहेक अन्य मन्त्रीहरू सार्वजनिक कार्यक्रममा बोल्न छाडेका हुन् । मन्त्रीहरूले दुईतिहाइको आडमा जथाभावी बोल्दा सरकारलाई सबैभन्दा धेरै अप्ठ्यारो परेको छ ।
गृहमन्त्री रामबहादुर थापाले संसदमा भाँती पु-याएर नबोल्दा नेपाली कांग्रेसले धेरै पटक हँगामा मच्चाएको छ । गृहमन्त्रीको ठाउँमा एक पटक कानून मन्त्री भानुभक्त ढकाललाई संसदमा नेपाली कांग्रेसले उठाएका प्रश्नहरूको जवाफ दिन लगाइएको थियो ।
प्रधानमन्त्री ओली पनि पहिला जस्तो धेरै बोल्न छाडेका छन् । बोलिहाले पनि थोरै र चाहेको जति मात्रै धारणा राख्ने गरेका छन् । यसअघि पटक पटक विवादमा आएका ओलीले आफूलाई सुधार गरेर लगेको धेरैको बुझाइ छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूलाई पनि धेरै नबोल्न दिर्नेशन दिइएको छ ।
त्यति मात्रै होइन सामाजिक सञ्जालमा पनि टिकाटिप्पणी नगर्न भनिएको छ । सामाजिक सञ्जालमा एक्टिभ रहेका नेता भीमबहादुर रावल पनि पछिल्लो समय चुपचाप छन् । उनको स्टाटसहरू पहिलाको जस्तो आक्रामक छैनन् । ओलीकै निर्देशनका कारण रावल थन्किएका हुन् ।
दुईतिहाइको बहुमतसहित सरकारमा रहेको नेकपाका मन्त्रीहरूले काम गर्नेभन्दा पनि धेरै गफ गर्ने गरेको आरोप छ । यो आरोपबाट आफ्ना मन्त्रीहरूलाई बचाउन ओलीले नयाँ जुक्ति निकालेका हुन् । बोल्न परेपनि मन्त्रीहरूले सीमित कुरा मात्रै बोल्ने गरेका छन् । नेपाली कांग्रेसले सरकारमाथि निशाना साँधी रहेको छ ।
कांग्रेसको निशानाबाट बच्न मन्त्रीहरू पनि बोल्न छाडेको चर्चा छ । हुन त ओलीले केही मन्त्रीहरूलाई हटाउने चर्चा पनि छ । ओलीले केही मन्त्रीलाई हटाएर नयाँ जोश जाँगरसहित सरकार चलाउने तयारी गरेको जनाइएको छ ।
प्रतिक्रिया