१२ वर्ष अघि २३ जनालाई जिउँदै जलाएको अभियोगमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ
रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेपाली कांग्रेसका नेता तथा रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका सांसद मोहम्मद अफताब आलम पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आलमलाई आज विहान रौतहटको गौरबाट पक्राउ गरेको हो । २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोट सम्बन्धी घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आलममाथि २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप छ । मृतक दुई जनाको परिवारले दिएको जाहेरीका आधारमा आलमलाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा त्यहाँ केही मानिसको मृत्यु भएको थियो भने २३ जना बढी घाइते भएका थिए।
प्रमाण नष्ट गर्नका लागि घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेपछि उनलाई प्रहरीले खोजी गरेको थियो।
२०६५ असार ३० गते महान्यायाधीवक्ताको कार्यालय मार्फत जिल्ला सरकारी कार्यालय रौतहटले अनुसन्धान प्रतिवदेन हेरेर मुद्दा नचलाउने निर्णय गरेको थियो ।
२०६९ जेष्ठ १४ तत्कालिन न्यायाधीश शुशीला कार्कीको इजलासले जघन्य अपराधमा छानबिन गरेर मुद्दा चालाउने आधार हुँदा हुँदै अनुसन्धान नगरेकोमा सुरुबाट अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई आदेश दिएको थियो ।
सर्वोच्चको आदेश पालना नगरेको भन्दै घटनाका पीडित परिवारले अदालतको मानहानी भएको भन्दै पुनस् सर्वोच्चमा निवदेन दिएका थिए ।
एसपी खत्रीले सर्वोच्चको आदेश अनुसार आरोपीलाई पक्राउ गरेर थुनामा राखिएको बताए । आलम नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति एवं पूर्व केन्द्रिय सदस्य समेत हुन्।
प्रतिक्रिया