कांग्रेस सांसद आलम पदबाट निलम्बित
काठमाडौं । संघीय संसद सचिवालयले रौतहट क्षेत्र नं २ बाट निर्वाचित नेपाली कांग्रेसका नेता एवम् सांसद मोहम्मद आफताव आलमलाई सांसद पदबाट निलम्बन गरेको छ ।
संघीय संसद सचिवालयका सचिव डा. भरतराज गौतमले सोमवार सूचना पत्र जारी गर्दै आलमलाई फौजदारी अभियोगमा गिरफ्तार गरेको जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटले दिएकाले संविधानको धारा १०३ को उपधारा ६ बमोजिम उनलाई निलम्बन गरेको जानकारी गराएका छन् ।
संविधान बमोजिम जिप्रका रौतहटले फौजदारी अभियोगमा असोज २६ गते आलमलाई गिरफ्तार गरेपछि प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्ति (हाल उपसभामुख) लाई जानकारी गराएपछि संसद सचिवालयले आलमलाई निलम्बन गरेको सूचनापत्र जारी गरेको हो ।
प्रतिनिधिसभा नियमावली, २०७५ को उपनियम (३) बमोजिम निलम्वन गरिएपछि आलमले सांसदको हैसियतले पाउने सबै सुविधा रोकिएको छ । उनले प्रतिनिधिसभा सदस्यको हैसियतले हिरासतमा रहँदासमेत सांसदको लोगो भने लगाउन पाउने छन् ।
रौतहटको राजापुर स्थायी घर भएका आलम नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् । उनीमाथि २७ चैत २०६४ का दिन संविधानसभा निर्वाचनको बेला बम बनाउँदै गर्दा आफ्नै काकाको घरमा घाइते भएहरुलाई इँटाभट्टाको भट्टीमा हालेर जलाएको आरोप छ ।
आलम कांग्रेसका पुराना नेता शेख इद्रीसका भतिजा हुन् । उनी माधव नेपाल नेतृत्वको सरकारमा श्रममन्त्री समेत भएका थिए ।
प्रतिक्रिया