स्वतन्त्र उम्मेदवारी दिएका नेकपाका नेता घर्ती प्रहरी नियन्त्रणमा
काठमाडौं । बाग्लुङ निर्वाचन २ (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका शेरमान घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुर्तिवाङस्थित आफ्नै घरमा बसिरहेका घर्तीलाई इलाका प्रहरी कार्यालय बुर्तिवाङले नियन्त्रणमा लिएको हो ।
उम्मेदवारी फिर्ता गराउने उद्देश्यले प्रहरीले उनलाई नियन्त्रणमा लिई हेलिकप्टरमार्फत बाग्लुङ सदरमुकाम पुर्याएको छ ।
घर्तीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र घर्तीका समर्थकबीच आधा घण्टा विवाद भएको थियो । सोही कारण १ बजेभित्र प्रदेशसभा निर्वाचन कार्यालयमा पुर्याएर उम्मेदवारी फिर्ता गराउने प्रयास असफल भएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार, आइतबार दिउँसो १ बजेभित्र मनोनयन फिर्ता लिने समय तोकिएको थियो ।
उक्त क्षेत्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनमोर्चाका उम्मेदवार खीमविक्रम शाहीलाई समर्थन गरेको छ । तर, सोही निर्वाचन क्षेत्रमा नेकपाकै घर्तीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी तत्कालीन नेकपा माओवादीका जिल्ला सल्लाहकार पनि हुन्।
प्रतिक्रिया