सबैभन्दा बढी कर तिर्ने १५ विधाका उत्कृष्ट करदाताहरु सम्मानित
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले उत्कृष्ट करदातालाई सम्मान गरेका छन् । गत आर्थिक वर्ष २०७५/७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगीहरूलाई सम्मान गरेका हुन् ।
आठौं कर दिवसको अवसरमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् ।
सिद्धार्थ शमशेर राणा चौथोपटक लगातार धेरै कर तिर्ने करदाता बनेका छन् भने बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि परेको छ ।
आन्तरिक राजस्वको कार्यक्षेत्रभित्र रही धेरै आयकर भियस मोरिससले तिरेको छ भने सिद्धार्थ शमशेर राणा चौथोपटक लगातार धेरै कर तिर्ने करदाता बनेका हुन् ।
अर्थ मन्त्राललयका अनुसार, निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर डाबर नेपालले तिरेको छ । मदिरा र चुरोटबाहेक सबैभन्दा बढी आयकर तिर्नेमा भने जगदम्बा स्टिल परेको छ ।
कृषितर्फ अन्नपूर्ण एग्रो, सहकारीतर्फ छिमेकी लघुवित्त र बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी आयकर तिर्नेमा परेका छन् । बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स, स्वास्थ्य तथा शिक्षामा मणिपाल मेडिकल कलेज, सूचना प्रविधिमा वर्ल्ड लिंक र व्यापार व्यवसायमा अग्नि इन्कपोरिटेडले राज्यलाई बढी कर बुझाएका छन् ।
अर्थमन्त्रालयका अनुसार पर्यटनतर्फ तारागाउँ रिजेन्सी, हृयात र मध्यमस्तरीय करदाताबाट कामना सेवा विकास बैंक बढी कर तिर्नेमा परेका छन् ।
यसैबीच आठौं राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले आफू अलोकप्रिय बनेपनि देशलाई अफ्ठ्यारो हुने गरी अर्थतन्त्रमा असर पर्ने काम नगर्ने बताएका छन् ।
राजश्व संकलन नबढाउने हो भने खर्च सञ्चालन गर्न ऋण लिनु पर्ने र त्यो दीर्घकालीन रुपमा जोखिमपूर्ण हुने भन्दै उनले अहिले राजस्वबाट धेरै सार्वजनिक खर्च धान्ने कि ऋण लिने भन्ने विषय महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।
करको दायरा बढाएर अर्थमन्त्री अलोकप्रिय बने भन्ने टिप्पणी हुने गरेको स्वीकार्दै उनले परिवर्तित परिदृष्यमा केही अन्यौल हुनु स्वाभाविक भएको बताए । सरकार अध्यारोबाट उज्यालोतर्फ अगाडि बढिरहेको बताउँदै उनले भने, ‘लामो समय अध्यारोमा बसेका कारण केही समय अफ्ठ्यारो हुन्छ ।’
प्रतिक्रिया