गाँजा फडानीमा आफै खटिए सिडिओ बस्नेत र एसपी मल्ल

sp malla

  चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेत र जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल अवैध लागूऔषध गाँजा फडानीमा खटिएको तस्विर सार्वजनिक भएपछि चितवनबासीले मात्र नभई देशैभर त्यसको प्रसंसा भएको छ ।

चितवनको बिकट क्षेत्रमा गरिने अवैध लागूऔषध गाँजा खेती फडाँनीका लागि चितवन प्रहरीले अभियान नै चलाएको छ ।

पछिल्लो केहि महिनायता चितवनको राप्ती नगरपालिकाका पहाडी वडाहरुमा पटक–पटक प्रहरी टोली पुगेर गाँजा फडानी गर्दै आएको छ । तर, पनि त्यस स्थानमा गाँजा खेती भने रोकिएको छैन ।

मंसिरको पहिलो साता राप्ती नगरपालिका–१० को पहाडी क्षेत्रमा पुगेको सिडियो र एसपीसहितको टोलीले ३ दिन लगाएर चारकिल्ला, ठकुरी भञ्ज्याङ लगायतको क्षेत्रमा मौलाइरहेको गाँजा नष्ट गरेको थियो ।

गाँजा राज्यले निषेधित गरेको लागूऔषध भएकाले यसको खेती र वेचविखन गर्न पाइदैन । प्रमुख जिल्ला अधिकारी बस्नेतले चितवनका पहाडी भेगमा हुने गाँजा खेति नियन्त्रणका लागि प्रशासनले विभिन्न प्रयास गरिरहेको बताए ।

sp malla 1

फडानी गर्नेमात्र नभई यसको नियन्त्रणका लागि समुदायमा सचेतनाका फैलाउन अब केहि न केहि ठोस कार्यक्रम ल्याउनैपर्ने उनको भनाई थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी मल्लले भारतीय दलालहरुले गाँऊका सोझा किसानहरुलाई विभिन्न प्रलोभनमा पारी अवैध गाँजा उत्पादनमा लगाउने गरेको बताए ।

उनले भने–‘गाँउलेकै जग्गा भाडामा लिएर गाँउलेहरुलाई नै प्रयोग गरी गाँजा लगाएएको समेत पाइयो ।’ एसपी मल्लले किसानलाई दुःख दिने नियतले गाँजा फाँडेको गरेको नभई अवैध लागूऔषधको खेती गर्नुहुन्न भन्ने सन्देश दिनका लागि उक्त अभियान चलाएको बताए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अवैध गाँजा फाडानी गरिएको उनको भनाई थियो । चितवन प्रहरीले पछिल्लो पटक मात्रै ३० बिघाहभन्दा बढि क्षेत्रमा लगाइएको गाँजा फँडानी गरिसकेको छ । यसअघि पटकपटक गरि १५० बिघाहमा लगाइएको गाँजा नष्ट गरिएको थियो ।

राप्ती नगरपालिकाका वडा नं १०, ११, १२ र १३ का विकट पहाडी भूभागमा यस बर्ष पनि गाँजा मौलाइरहेका छन् ।

नगरपालिकाले यसको नियन्त्रणका लागि विभिन्न प्रयास गरे पनि त्यो सफल हुन नसकेको बताउँछन् नगरपालिका प्रमुख प्रभा बराल । उनी भन्छन्–‘अब जनता गाँजाको सट्टामा अन्य नगदेबाली तथा तरकारी खेतीमा लाग्नुपर्छ । जसका लागि सहयोग गर्न नगरपालिका तयार रहेको छ ।’

चितवनमा मात्र नभई मकवानपुरका पहाडी क्षेत्रहरुमा समेत केही दलालहरुले सोझा किसानहरुलाई प्रलोभन देखाई गाँजा खेति गराउने गरेका छन् ।

भदौ महिनामा रोपेको गाँजा पौष–माघ महिनामा तयार हुन्छ । लागूऔषधको रुपमा तयार भएपछि लोथर, मनहरीलगायत क्षेत्रबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै भारतसम्म पुर्याउने गरेको प्रहरीको बुझाई छ ।

प्रतिक्रिया

सम्बन्धित