वीर अस्पतालमा असुली धन्दा
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालित वीर अस्पतालका हाकिमहरुले औषधी पसलबाट लाखौं असुल्ने धन्दा चलाएका छन् । कमिसनकै लागि वीरमा सञ्चालित सरकारी पसलमा आवश्यक र महंगो औषधी नराखी निजी औषधी पसलमा राख्न लगाई हाकिमहरुले नै मासिक लाखौं असुल्दै आएका छन् ।
विरामीहरुलाई आवश्यक पर्ने महंगो औषधी किन्न अस्पताल बाहिरका पसलमा जान बाध्य पार्ने वीर अस्पताल प्रशासनले अस्पताल भित्रै सञ्चालित पसलमा भने त्यस्ता औषधी राख्न नै नदिने गरेको भित्रका फार्मेसी सञ्चालकको आरोप छ । जसमा खरिद एकाई प्रमुख र निर्देशककै मिलेमलो रहेको वीर अस्पताल स्रोत बताउँछ ।
नियमित हुनुपर्ने टेन्डर पनि खरिद प्रमुख भगवती थपलिया, निर्देशक केदार सेञ्चुरी र हालका उपकुलपति डिएन शाहको मिलेमलोमा हुन सकेको छैन । टेण्डर विना सञ्चालित ५ वटा पसलबाट वीरको भ्रष्ट समूहले मासिक लाखौ कमिसन उठाउने गरेको स्रोत बताउँछ ।
२०७२ सालपछि एक पटक टेण्डरका लागि सूचना निकाले पनि प्रक्रिया अगाडि बढाइएन । यो प्रकरणमा न्याम्स कर्मचारी युनियनहरुको समेत मिलेमतो रहेको बुझिएको छ । भिसी शाहले मनपरी रुपमा कर्मचारी भर्ना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ ।
प्रतिक्रिया