सभामुखको टुंगो लगाउन नसक्दा ६ दिनका लागि संसद बैठक स्थगित

bicc

  काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक ६ दिनका लागि स्थगित भएको छ ।

शुक्रबार १ बजेका लागि कार्यसूची समेत तय भइसकेको बैठक सूचना टाँसेर ६ दिनका लागि स्थगित भएको छ । अर्को बैठक पुस १६ गतेका लागि बोलाइएको छ ।

सत्तारुढ नेकपामा सभामुख कसलाई बनाउने भन्नेमा विवाद छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार चितवनबाट आउने र सभामुखको टुंगो लगाउने भनिएको थियो ।

तर, प्रचण्डले काठमाडौं फर्किने कार्यक्रम रद्ध गरेपछि पार्टीमा छलफल हुन नपाउँदा सभामुखको विषयमा टुंगो लाग्न सकेको छैन ।

संसद सचिवालयकी रोशनी शाही नामकी महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोगमा सभामुख कृष्णबहादुर महरा जेल चलान भएपछि अहिले सभामुख पद खाली छ ।

नेकपाका अध्यक्षद्धयबीच नै सभामुख कसलाई बनाउने भन्ने विषयमा विवाद छ । प्रधानमन्त्री केपी शर्मा ओली सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् भने दाहाल अग्नि सापकोटालाई सभामुख बनाउन चाहन्छन् ।

यद्यपी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे पनि सभामुख बन्न खोजिरहेकी छन् । तर, पार्टीले उनलाई मन्त्री बनाएर भए पनि राजिनामा दिन लगाउने तयारी थालेको स्रोतको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित