मुलुकका अधिकांश स्थानमा वर्षासँगै परेको हिमपातका कारण जनजीवन प्रभावित

himpat

  काठमाडौं । मुलुकका अधिकांश स्थानमा परेको वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

वर्षासँगै सुदूरपश्चिमका बाजुरासहित अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा बिहीबार हिमपात भएको हो । हिमपातसँगै जिल्लामा चिसो बढेको छ ।

कर्णाली प्रदेशका जिल्लामा पनि वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ । जुम्ला, हुम्ला, डोल्पा, मुगु, कालीकोट, जाजरकोट र सुर्खेत जिल्लाबासीको दैनिकी बढी कष्टकर बनेको छ । सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र रानीमत्ता लेकमा हिमपात भइरहेको छ ।

जुम्ला, मुगु र जाजरकोटबाट छुट्ने लामा तथा छोटो दूरीका गाडी बन्द भएका छन् । हवाई उडान पनि बन्द भएको नागरिक उड्डयन कार्यालय जुम्लाले जनाएको छ ।

वर्षा र हिमपातका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । हिमाली र उच्च पहाडी भागमा बिहीबारदेखि नै हिउँ परिरहेको छ ।

काठमाडौं उपत्यका नजिकका अग्ला डाँडाहरुमा पनि हिउँ परेपछि चिसो झन् बढेको महसुस भएको छ । धेरैजसो जिल्लाहरुमा गएरातिदेखि नै पानी परिरहेको छ ।

चिसोबाट बालबालिका, जेष्ठ नागरिक र बिरामीहरु प्रभावित भएका छन् । धेरैजसो घरबाहिर निस्किन सकेका छैनन् ।

केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज राती र भोलि देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडका केही स्थानमा हलका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

प्रतिक्रिया

सम्बन्धित